काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रधानमन्त्री केपी ओलीका विश्वास पात्रसँगै कट्टर समर्थक पनि हुन्। उनी प्रधानमन्त्री ओलीले गर्ने जुनसुकै कामको पनि विरोध गर्दैनन्।
उनले शनिबार आफ्नो फेसबुकमा प्रधानमन्त्री ओलीले गरेका केही दूरगामी महत्वका कामहरू भनेर लेखेका छन्। तर, पनि ओली चौतर्फी घेराबन्दीमा रहेको उनले बताएका छन्।
‘पार्टी एकता संकटग्रस्त बनेको छ। राष्ट्रिय राजनीति पुनः अस्थिर र अन्योलग्रस्त बनाइँदैछ। सबै पक्ष गम्भीर र जिम्मेवार बनौं,’ उनले भनेका छन्।
पोखरेलको नजरमा प्रधानमन्त्री ओलीले गरेका असाधारण र दूरगामी महत्वका कामको सूची यस्तो छ।
1) विश्वास गुमेको अवस्थामा संविधानसभाबाट नयाँ संविधानको निर्माण,
2) जातीय, क्षेत्रीय अतिवाद र विखण्डनवादको वैचारिक रुपमा सामना,
3) भारतीय नाकाबन्दीको सामना र सफलता,
4) चीनसँगको ऐतिहासिक पारवान सम्झौताबाट भविष्यमा नाकावन्दी नहुने परिस्थितिको निर्माण,
5) नेकपा (एमाले)को नेता भएपछि पार्टीको लोकप्रियतामा वृद्धि,
6) सफल चुनावी गठबन्धन र ऐतिहासिक पार्टी एकताको नेतृत्व,
7) भारत र चीनसँगको सम्बन्धलाई नयाँ आयाम दिने प्रयास,
8) अन्तर्राष्ट्रियस्तरमा नेपालको आवाज सुनिने अवस्थाको सिर्जना,
9) सन् १९५०को असमान सन्धिको पुनरावलोकनमा सैद्धान्तिक सहमति,
10) पूर्वधार विकासमा तीव्रता,
11) लोडसेडिङ अन्त्यका लागि योजनावद्ध पहल,
12) रणनीतिक विकास आयोजनाहरू (रेलमार्ग, जलमार्ग, हवाई यातायात, सुरुङ मार्ग, सात वटा उत्तर-दक्षिण करिडोर, चार वटा पूर्व-पश्चिम राजमार्गको निर्माण र विस्तार, खानी अन्वेषण र उत्खननको तयारी आदि) को थालनी,
13) सामाजिक सुरक्षामा नयाँ आयाम योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम,
14) विप्लव र सीके राउतसँगको ऐतिहासिक शान्तिवार्ताको नेतृत्व,
15) छोटो समयमा नयाँ संविधानको सफल कार्यान्वयन र आम स्वीकारोक्तिको निर्माण,
16) तराई-मधेसको विकासमा तीव्रता,
17) प्राविधिक शिक्षामा जोड र विद्यार्थी भर्ना दरमा उल्लेख्य वृद्धि,
18) सडक मानवरहीत अभियानको नेतृत्व,
19) स्वास्थ पुर्वाधार विकासमा क्रान्ति,
20) कृषिको आधुनिकीकरण र सिचाइँ सुविधाको विस्तार,
कोभिड १९ महामारीको सफलतापूर्वक सामना आदि।








































