15, May, 2024

नेकपा ओली समुहको संसदीय दलको बैठक आज, बैठकमा प्रचण्ड-माधवलाई पनि निमन्त्रणा

Bagmati Voice
संवाददाता
२२ फाल्गुन २०७७, शनिबार १०:०८ | ३ साल अगाडी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सत्तारुढ नेकपाको संसदीय दलको बैठक आज बस्ने भएको छ ।

आइतबारदेखि संसद अधिवेशन शुरु हुने भएकाले त्यसमा नेकपा सांसदहरूको भूमिका कस्तो हुने भनेर प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनका सांसदहरूलाई बैठकमा बोलाइएको मुख्य सचेतक विशाल भट्टराईले बताए ।

संसद भवनको ल्होत्से हलमा हुने बैठकमा दलको नेता केपी शर्मा ओलीको निर्देशन बमोजिम प्रचण्ड, माधवकुमार नेपाल सहित संघीय संसदका नेकपाका सबै सांसदलाई खबर पठाइएको उनले जानकारी दिए ।

प्रचण्ड–माधव पक्षले भने शुक्रवारै बैठक बसेर दलको नेता प्रचण्डलाई चयन गरेको छ ।

नेकपा विभाजन कानुनी रुपमा नभइसकेको अवस्थामा संसदीय दलको नेता केपी ओली बाहेक अरुलाई कानुनले नचिन्ने र दलको नेता हटाउने प्रकियामा अर्को पक्षले विधान बमोजिम कुनै निवेदन समेत नदिएकाले नेकपाको संसदीय दल एउटै रहेको भट्टराईको भनाइ छ ।

संसद सचिवालयले भट्टराईलाई नेकपाको मुख्य सचेतको मान्यता दिइसकेको छ । नेकपाका सांसदहरू दुवै पक्षमा विभाजित भएका छन् । प्रचण्ड माधव पक्षले आफ्नो समूहमा दुवै सदनका गरि ११५ जना सांसद रहेको दावी गरेको छ । ओली पक्षको पनि त्यस्तै दाबी छ ।

आजसम्मको अवस्था हेर्दा प्रचण्ड-माधव पक्षमा प्रतिनिधिसभामा सभामुख बाहेक ८७ र राष्ट्रियसभामा २४ सांसद छन् । यो भनेको १ सय ११ जनाको संख्या हो । त्यस्तै ओली पक्षमा प्रतिनिधिसभामा ८३ र राष्ट्रियसभामा अध्यक्षबाहेक २४ सांसद छन् । यो भनेको १०७ जनाको संख्या हो ।
प्रतिनिधिसभामा लालबाबु पण्डित, तुलसी थापा गौतम दुवै पक्षमा खुलेका छैनन् भने राष्ट्रियसभामा बामदेव गौतम तटस्थ छ ।

२२ फाल्गुन २०७७, शनिबार १०:०८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading