29, Apr, 2024

बहुमत साथीहरूको मतले म नेता भएको छु, ओली गुटका सबै हामिहरुसँग आउनुहोसः प्रचण्ड

Bagmati Voice
संवाददाता
२२ फाल्गुन २०७७, शनिबार ०९:४२ | ३ साल अगाडी

काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू बहुमतप्राप्त नेता भएको जिकिर गरेका छन्।

शुक्रबार सिंहदरबारमका भएको संसदीय दलको बैठकपछि नेता चुनिएका नेता प्रचण्डले आफूहरू विधानअनुसार वैज्ञानिक तरिकाले अगाडि बढेका बताएका छन्।

‘अत्याधिक बहुमत साथीहरूको साथमा म दलको नेता बनेको छु, हामी विधान अनुसार बैठक बोलाउन आव्हान गरेर वैज्ञानिक तरिकाले हामीले बैठक गरेका हौ’, उनले भने,‘हामी संविधान र प्रक्रिया अनुसारनै जान्छौं। पर्‍यो भने अविश्वासको प्रस्ताव पनि लैजान्छौं।’

उनले आफू संसदीय दलको नेता बन्नुलाई अवसर र चुनौतीको रूपमा लिएको उल्लेख गरे। ओली गुट र ‘भ्रम’मा रहेका नेता–कार्यकर्तालाई आधिकारिक पार्टी आफ्नै भएकाले यतै आउन पनि प्रचण्डले आग्रहसमेत गरे।

उनले निकै जटिल परिस्थिति रहेको भन्दै आफू तत्काल प्रधानमन्त्रीको उम्मेद्वार नभएको भन्दै सबैसँग सल्लाह गरेर अगाडि जाने बताए। ‘आउने दिन सहज बनाउने भए केपी ओलीले संसद् पुनःस्थापना भइसकेपछि राजीनामा दिनुपर्ने हो। त्यतिमात्रै नभएर ११५ जनाको हस्ताक्षरसहितको बहुमतले दलको नेता मलाई निर्वाचित गरिसकेपछि अविलम्ब राजीनामा दिनु उहाँ र देशको लागि सहज हुन्छ नभए प्रक्रियामार्फत अघि बढ्छौँ,’ दाहालले भने, ‘अविश्वास प्रस्ताव ल्याउन ओलीले नै बाध्य पारेका हुन्।’

उनले संसद् विघटन गर्ने कदमलाई स्वेच्छाचारी भनेर सडकमा गएका दलहरु मिल्नुपर्ने तर्क गरे।

भावी प्रधानमन्त्रीको विषयमा पत्रकारले सोधेको प्रश्नमा उनले अरु दलहरुसँग छलफल गरेपछि मात्रै आफूहरु निर्णयमा पुग्ने बताए। ‘अहिले हामी छलफलमै छौँ । संसद् विघटन गर्ने कदमलाई अलोकतान्त्रिक, स्वेच्छाचारी भनेर सडकमा गएका दलहरुसँग मुद्दाका हिसाबले हाम्रो सहकार्य हुन्छ । आन्दोलनमा सहकार्य भयो । छलफलमा छौँ, एक–दुई दिनमा टुंगो लाग्छ,’ उनले भने।

आजै बसेको बैठकले प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको हो। यसअघि पुस ८ मा पनि उनलाई संसदीय दलको नेतामा चयन गरिएको थियो। तर निर्वाचन आयोगले पुस ५ गते नेकपाको दुवै पक्षले गरेको निर्णय अस्वीकार गरिदिएको थियो।

२२ फाल्गुन २०७७, शनिबार ०९:४२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading