काठमाडौं । राष्ट्रियसभाका सांसद गोपाल भट्टराईले विमानस्थलबाट बरामद भएको करिब एक क्विन्टल सुनमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता भएको आरोप लगाएका छन् ।
राष्ट्रियसभा बैठकमा बोल्दै उनले गृहमन्त्री श्रेष्ठ र पूर्वसभामुख कृष्णबहादुर महराको नामसमेत जोडिएको बताए ।
उनको भनाइ जस्ताको तस्तैः
हाम्रो देशमा तस्करहरूले राज्य संचालनमा हस्तक्षेप त गरेका छैनन् भन्ने आभास हुन थालेको छ । बाहिर हेर्दा भ्रष्टाचार, अनियमितता सबै अन्त्य हुन थालेजस्तो देखिएको छ। पावरमा भएकाहरू जोडिँदासमेत छानबिन भएको छैन । जनताको ध्यान एकातिर केन्द्रित गर्ने र अर्कोतर्फ तस्करी मौलाउने अवस्था देखिएको छ ।
भर्खरै समातिएको करिब एक क्विन्टल सुनको बारेमा पूर्वसभामुख र गृहमन्त्रीको समेत नाम जोडिएर समाचारहरू आएका छन्। सुन भित्र्याउँदा मोटरसाइकल र स्कुटरको ब्रेक सू भनेर भन्सार छली भएको छ। यो एक, डेढ महिना यही प्रक्रियाबाट चारपाँच पटक भित्रिएको भन्ने सुनिएको छ। अब निष्पक्ष छानबिन हुन्छ भनेर विश्वास गर्ने ठाउँ छैन।







































