दिल्ली । भारतीय सीमा सशष्त्र बल एसएसबीले नेपालसँगको सिमानामा थप ५४८ पोस्ट खडा गर्ने भएको छ । टाइम्स अफ इन्डियाका अनुसार भारत सरकारले नेपाल र भुटानसँगका सीमामा १२ नयाँ बटालियन स्थापना गर्न अनुमति दिएपछि १३ हजार थप फोर्स परिचालन हुने भएका छन् ।
पटक,पटक तनाव सिर्जना हुने भारत, भुटान र तिब्बतको त्रिदेशीय क्षेत्रमा समेत सम्भावित सुरक्षा चुनौतिको सामना गर्न सुरक्षाकर्मीहरु परिचालन गर्ने समाचारमा जनाएको छ । नेपालसँगको १,७५१ किलोमिटर सिमाना र भुटानसँगको ६९९ किलोमिटर खुला सिमानामा फोर्स थप्ने भारतको तयारी छ । जसअनुसार भारतले नेपाल सीमामा थप चार एकीकृत चेक पोस्ट आइसीपी खडा गर्ने भएको हो ।
जोगबनी र रक्सौल नाकामा यसअघि दुई चेक पोस्ट सञ्चालनमा छन् ।
एसएसबीका महानिर्देशक राजेश चन्द्रका अनुसार १२ बटालियन चरणबद्ध रुपमा स्थापना हुनेछन् ।
‘सरकारको यो अनुमतिपछि सीमा सुरक्षा अझ सुदृढ हुनेछ’ चन्द्रले बताए ।
नयाँ पोस्टहरु थप्ने तयारी भैरहँदा सरकारले अनुमति दिएपछि झनै सजिलो भएको चन्द्र बताउँछन् । यी सीमा बटालियन युनिटले सीमा पोस्टबीचको दूरीलाई घटाउने, ब्यापार बलियो बनाउने र सीमापारको सुरक्षा जोखिमलाई रोक्ने उद्देश्य लिइएको छ ।
सन् २०१७ मा चीन, भारत र भुटानको त्रिदेशीय थलो दोक्लममा ७० दिन लामो तनावपछि भारतले बटालियन खडा गर्ने निधो गरेको हो । गृहमन्त्री अमित शाहले खडा गर्ने भनिएका नयाँ बटालियन र थप्ने भनिएको फोर्सबारे अध्ययन गतवर्ष नै गरिसकेको समेत जनाएको छ ।









































