काठमाडौं । सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक बालुवाटारमा जारी छ ।
बैठकमा पछिल्ला समसायिक राजनीतिक घटनाक्रमबारे छलफल हुने प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द्र आचार्यले बताए ।
बैठकमा जनमत पार्टीलाई सरकार ल्याउने विषयमा पनि छलफल हुने बताइन्छ। आइतबार जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग प्रधानमन्त्रीले प्रचण्डले गठबन्धन दलसँग सहमति गरेर सरकारमा ल्याउने आश्वासन दिएका थिए ।
बैठकमा कोशी प्रदेशमा नयाँ सरकार गठनको विषय पनि छलफल हुने उनले बताए । गत पुस २४ गते मुख्यमन्त्री बनेका नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेश सभा बैठकमा शुक्रबार विश्वासको मत नपाएपछि नयाँ सरकार गठनको लागि आह्वान भएको छ ।
कोशी प्रदेशमा ९३ सदस्य रहेका छन् । बहुमत पु¥याउन ४७ सीट चाहिन्छ । राप्रपाले एमालेसँगको गठबन्धन नछोडेको अवस्थामा विपक्षी गठबन्धनको बहुमत पुग्न सक्ने अवस्था छैन ।
एमालेको ४० र राप्रपाको ६ गरी ४६ सांसद छन् । नेपाली कांग्रेसको २९, माओवादीको सभामुखबाहेक १२ सीट, नेकपा एसको ४ र जसपाको १ गरी गठबन्धनसँग पनि ४६ नै सीट छ ।








































