29, Apr, 2024

भगवती हाइड्रोपावरले असार २४ गतेदेखि आइपिओ निष्कासन गर्ने, कसले दिन पाउँछन् आवेदन?

Bagmati Voice
संवाददाता
१५ असार २०८०, शुक्रबार ११:४६ | १0 महिना अगाडी

काठमाडौ । काठमाडौ भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले असार २४ गतेदेखि प्रिमियममा आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो।

कम्पनीले जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ७२ लाख ६ हजार ५०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरमा प्रिमियम रकम १६ रुपैयाँ थप गरी प्रतिकित्ता ११६ रुपैयाँमा ५ लाख ७२ हजार ६५ कित्ता आइपिओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो।

उक्त सेयरमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १३, १४, २६ र २७ (साविकको पोखरा उप महानगरपालिका वडा नं. १३, १४, १८, २२ र लेखनाथ नगरपालिका वडा नं. २, ३, ४, ५, ६ र ७) का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्ने छन्।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ८५ लाख ८१ हजार १०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँका दरले ८५ हजार ८१० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो।

उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

उक्त आइपिओमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले भने साउन २२ गतेसम्म आवेदन दिन सक्ने छन्।

कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी त्रिपल बी माइनस इस्युर’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

स्थानीय बासिन्दाले सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्ने छन्।

यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी–आस्बा प्रणालीमार्फत् आवेदन दिन सक्ने छन्।

१५ असार २०८०, शुक्रबार ११:४६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading