रुपन्देही । श्रीलंकन बौद्धिष्टहरुलाई भ्रमणको निम्तो दिन र बुद्धजन्मस्थल लुम्बिनीसहित वरपरका बौद्ध जीवनीमा आधारित स्थलहरूको प्रचार गर्न पर्यटन व्यवसायीको टोली श्रीलङ्का गएको छ ।
लुम्बिनीमा सबैभन्दा धेरै पर्यटक आउने देशको सूचिमा श्रीलङ्का रहेको छ । सिद्धार्थ होटल संघ नेपाल (शान)को टोली सेल्स मिशन कार्यक्रम लिएर १२ असारदेखि १७ असारसम्मको कार्यक्रम लिएर त्यता लागेको हो ।
संघले भैरहवामा पत्रकार सम्मेलनमार्फत सेल्स मिशन कार्यक्रमको जानकारी गराउँदै सोमबार प्रस्थान गर्ने टोलीलाई बिदाइ गरेको छ ।
स्थल मार्ग हुँदै बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने सबैभन्दा बढी तेस्रो मुलुकको पर्यटकमा श्रीलंकनहरु रहेका छन् । कोरोना कहर सुरु हुनु अघिसम्म वार्षिक ५० हजारको हाराहारीमा श्रीलंकन पर्यटक आउने गरेकोमा अहिले निकै न्यून श्रीलंकन पर्यटकहरू आएका छन् ।
‘६ दिनको श्रीलङ्काको कार्यक्रममा हामीहरूले कोलम्बो र केन्डी शहरमा प्रचारात्मक अभियानका कार्यक्रम गर्नेछौं’, सिद्धार्थ होटल संघ नेपाल (शान)का अध्यक्ष श्रीलङ्का सेल्स मिशन कार्यक्रमका संयोजक चन्द्रप्रकाश श्रेष्ठ (सिपी)ले भने, ‘अहिले बाताबरण सहज छ, हामीसंग भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल पनि छ, बजेट अनुसारको होटलहरु पनि छ, श्रीलंकनहरु लुम्बिनी भ्रमणमा आउनुस्, हामी स्वागत गर्न तयार छौं, तपाईँहरूको बजेट अनुसारको भ्रमण प्याकेज उपलब्ध गराउँछौ, त्यहाँ हामीले भन्नेछौं ।’
सिद्धार्थ होटल संघ (शान)को सेल्स मिशन कार्यक्रममा सुरुमा केन्डी शहरमा त्यहाँका पर्यटन व्यवसायी, टुर तथा ट्राभल अपरेटर लगायतसँग अन्तरक्रिया, छलफल र बि टु बि कार्यक्रम गरिने सेल्स मिशन कार्यक्रमका संयोजक सिद्धार्थ होटल संघका वरिष्ठ उपाध्यक्ष किशोर जोशीले बताए ।
त्यस्तै कोलम्बोमा हुने कार्यक्रममा त्यहाँका पर्यटनमन्त्रीसहित, नेपालका लागि श्रीलंकाका राजदूत, कोलम्बोका पर्यटन व्यवसायी, ट्राभल एजेन्ट, टुर अपरेटर, सरकारी, गैरसरकारी संस्थाका प्रतिनिधि एवं नेपालका प्रतिनिधि मण्डलसहित २ सय जनाको उपस्थितिमा लुम्बिनी र वरपरका क्षेत्रहरू कपिलवस्तु, रामग्राम, देव दहलगायतका बारेमा जानकारी, साथै वृत्तचित्र प्रदर्शनी, बिटुबिलगायतको कार्यक्रम आयोजना हुने जोशीले बताए ।
श्रीलङ्का सेल्स मिशन कार्यक्रमको प्रवर्द्धक नेपाल टुरिजम बोर्ड रहेको छ । त्यसै गरी होटल संघ नेपाल र लुम्बिनी विकास कोष पनि साथमा रहेका छन् ।
सिद्धार्थ होटल संघले आफ्नै पहलमा २०७२ सालको भूकम्पपछि जेठ महिनामा नेपाल भ्रमणका लागि सुरक्षित छ, भ्रमण गर्न आउनुहोस् भन्दै थाइल्याण्डमा सेल्स मिशन कार्यक्रम आयोजना गरेको थियो । टोलीलाई नेपाल टुरिजम बोर्डले सोमबार बिदाइ गरेको थियो ।








































