वि.सं.२०८३ असार १८ बिहीवार

कर्णालीका आर्थिक मामिलामन्त्रीको प्रतिबद्धता : रंगशालालाई बजेट अभाव हुन दिन्न

khanepani

सुर्खेत । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले प्रदेश गौरवको आयोजनाको रूपमा रहेको प्रदेश रंगशालाको निर्माणमा बजेट अभाव हुन नदिने बताएका छन् ।

बिहीबार बिहान वीरेन्द्रनगरस्थित निर्माणाधीन प्रदेश रंगशालाको निरीक्षण गर्दै मन्त्री सिंहले बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाए । उनले रंगशाला निर्माणको काम सन्तोषजनक रहेको भन्दै निर्धारित समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे ।

मन्त्री सिंहले आर्थिक २०८०/८१ को बजेटमा प्रदेश रंगशालाका लागि ८५ करोड बजेट विनियोजन गरेको जानकारी गराउँदै त्यो रकम अपुग भएमा स्रोत सुनिश्चित गराउने समेत प्रतिबद्धता जनाए ।

उनले प्रदेश रंगशाला कर्णाली प्रदेश सरकारको प्रतिष्ठासँग पनि जोडिएकाले सरकारको तर्फबाट कुनै कमी हुन नदिने बताए ।

‘म अर्थमन्त्रीका रूपमा रहुन्जेल बजेटको कुनै चिन्ता नमान्नुहोस्। प्रदेश गौरवको आयोजनाका रूपमा रहेको यो रंगशालाका लागि बजेटको अभाव हुन दिन्नँ। पर्याप्त बजेटको व्यवस्था गर्छु’, मन्त्री सिंहले भने ।

खेलकुद मानिसको स्वास्थ्य र अनुशासनसँग जोडिएको विषय रहेको उल्लेख गर्दै मन्त्री सिंहले यस क्षेत्रको पूर्वाधार निर्माणमा प्रदेश सरकार गम्भीर रहेको बताए ।

आउँदो वर्ष मंसिरमा कर्णालीमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै रंगशाला निर्माणको काम धमाधम भइरहेको छ।

कर्णालीमा २०८१ को मंसिर २ देखि ९ गतेसम्म १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिने तय भइसकेको छ।

मन्त्रीले सिंहले कर्णाली प्रदेशले राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने अवसर पाएकाले त्यसलाई भरपुर सदुपयोग गर्नुपर्ने बताए ।

आउँदो जेठमा रंगशालाको निर्माण कार्य सक्ने लक्ष्यका साथ काम भइरहेको र हाल ४० प्रतिशत काम सम्पन्न भएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालले जानकारी दिए ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र संन्ज्यालले रंगशालाका संरचना भूकम्प प्रतिरोधक बनिरहेका बताए ।

१० हजार दर्शक क्षमता भएको रंगशालाको प्यारापिटमा ग्याल्वनाइज फलामका राखिने उनले जानकारी दिए ।

खेल सञ्चालन गर्दा आवश्यक पर्ने सबै खालका संरचनासहितको सुविधा सम्पन्न रंगशाला बन्ने सदस्य सचिव संन्ज्यालले बताए ।

रंगशालाभित्र फिफाको मापदण्डअनुसार फुटबल मैदान र स्वीमिङ पुल निर्माणको काम भइरहेको उनको भनाइ छ।

यस्तै, आठ लेनको सेन्थेटिक एथ्लेटिक्स ट्रयाक, भीआईपी प्यारापिट तथा वेटिङ रुम, रेफ्री, चेन्जिङ, रिफ्रेस रूम, मेडिकल रुम, फिजियोथेरापी र मिडिया रूम निर्माण गरिने उपाध्यक्ष हमालले जानकारी दिए। हमालका अनुसार अपांगतामैत्री संरचना, हरियाली ल्यान्डस्केप र अन्डरग्राउन्ड पार्किङ निर्माण गरिनेछ।

टिभी लाइभ ब्रोडकाष्ट प्लेटफर्म र रंगशालाभित्रै ओलम्पिक टर्च स्ट्यान्ड पनि निर्माण हुने उपाध्यक्ष हमालले जानकारी दिए ।

ranechhap