काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले समाजवादी मोर्चा वृद्धहरुको क्लव भएको बताएका छन।
मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले समाजवादी मोर्चा प्रौढहरुको क्लव भएको बताएका हुन । उनले समाजवादको धारणामा एकरुपता हुन नसकेकाहरुको मोर्चा धेरै समय नटिक्ने दाबी गरे । उनले मोर्चामा संविधान च्यात्नेसम्म रहेको उल्लेख गर्दै संविधानप्रति समान दृष्टिकोण नरहेकाहरुको मोर्चाले उपलब्धि दिन नसक्ने बताएका हुन ।
उनले समाजवादी मोर्चा बनाएका दलहरु अस्तित्वको संकटमा रहेको बताएका छन ।
उनले भने, ‘समाजवादी मोर्चा भनेर बनाउनुभएको छ, समाजवादको धारणाप्रति नै उहाँहरुको एकरुपता छ त ? समाजवादमा पुग्ने बाटोमा एकरुपता छ त ? उपेन्द्र यादवजीले समाजवादमा पुग्ने बाटो र नेत्रक्रिम चन्दले समाजवादमा पुग्ने बाटो एउटै छ ? तरिका एउटै हो ? संविधानप्रति उहाँहरुको समान दृष्टिकोण छ ? संविधान च्यात्नेहरु पनि त्यहीँ हुनुहुन्छ । कस्तो मोर्चा हुन्छ त्यो ? यो प्रौढहरुको क्लव हो । यसमा इतिहासको बखान हुन्छ । मेरो पालमा यो, मेरो पालामा यो । यो बुढाहरुको क्लव हो । भविष्यको सपना केही पनि छैन । समाजवादी मोर्चा बनाएर दलहरु अस्तित्वको संकटमा छन् । मोर्चा पछि आफैँ झगडा गर्दछन्, छुट्टिन्छन् ।’
सांसद भट्टराईले संसदमा पेस गर्ने डकुमेण्ट परिष्कृत हुनुपर्नेमा अहिले विभिन्न त्रुटीहरु भइरहेको बताए। उनले मन्त्रीको नियतका कारण भइरहेका गल्तीलाई स्वीकारेर अघि बढ्न नसकिने बताउनु भयो । उनले छलफलमा मन्त्रीहरु नआएको भन्दै सरकार सदनप्रति जवाफदेही बन्न नसकेको बताएका छन।
उनले भने, ‘संसदमा पेस गर्ने डकुमेण्ट धेरै नै परिष्कृत भएर आउनुपर्छ । यो मानवीय त्रुटी भन्दा पनि नियत हो । सबै प्रदेशको नाम भइसकेपछि मन्त्रीले नाम नै नलेख्ने ? बजेट कसरी इन्ट्री हुन्छ । यसमा प्रधानमन्त्रीज्युले पनि कमाण्ड नगर्नुभएको हो की ? आफ्ना मन्त्रीलाई बोलाएर संसदमा कसरी प्रश्तुत हुने भन्नुपर्छ की । छलफलमा नै मन्त्रीहरु आउँदैनन् । संसदलाई ध्यान दिन सकिएको छैन । सरकार संसदप्रति जवाफदेही छैनन् । उहाँहरुको हेलचेक्रयाँई छ । सत्ता पक्षकै नेताहरु असन्तुष्टि हुनुहुन्छ बजेटमा । बजेट फेल भएपछि सरकार स्वतः जान्छ ।’
सांसद भट्टराईले बजेटप्रति सत्ता पक्षकै सांसदहरु असन्तुष्ट रहेको भन्दै बजेट फेल भए सरकार स्वतः ढल्ने बताएका छन।
Share








































