वि.सं.२०८३ भदौ ९ मंगलवार

मन्त्री र सचिवको पेलाईले गर्दा राजनीतिक पार्टी खोलेर चुनाव लड्नुपर्ने देखियो : महावीर पुन

khanepani

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा मेगासेसे अवार्ड विजेता महावीर पुनले आफू पनि राजनैतिक पार्टी खोलेर चुनाव लड्ने सम्भावना देखिएको बताएका छन् ।

आविष्कार र नवप्रर्वतनका लामो समयदेखि संघर्ष गर्दै आएका पुनले काम गर्नका लागि मन्त्री र सचिवको पेलाई सहन परेकाले आफैँले राजनैतिक पार्टी खोलेर चुनाव लड्ने सक्ने सम्भावना देखिएको बताएका हुन् ।

पुनले सामाजिक सञ्जाल मार्फत आफ्नो जीवनमा १ प्रतिशत भन्दा पनि न्यून सम्भावना रहेका विभिन्न काम गरेकाले अब पार्टी खोल्ने र चुनाव लड्ने सम्भावना पनि १ प्रतिशत देखिएको बताएका हुन् ।

पुनले आफूले हाई स्कुल पढ्न सक्ने सम्भावना, अमेरिकामा अध्ययन गर्न जाने सम्भावना, फर्केर नेपाल आउने सम्भावना, विकट गाउँमा इन्टरनेट पुर्‍याउने लगायतका सम्भावना १ प्रतिशत भन्दा कम रहँदा रहँदै सफल भएको बताएका छन् ।

उनले भनेका छन्, ‘मेरो जिन्दगीमा १ प्रतिशत पनि सम्भावना नभएका तर घटेका घटनाहरू सुन्नुहोस् र बुझ्नु होस् । म पनि चुनावमा उठ्ने १ प्रतिशत सम्भावना भएको थाहा पाउनुहोस् ।’

दीर्घकालीन सपनासहित मरिमेटेर काम गर्ने आम नेपालीहरूको लागि आवश्यक कानून बनाउन नेताहरूले नसक्ने उनले बताएका छन् ।

काम गर्न नसक्ने नेता र मन्त्रालयका सचिवहरूले कानून छैन भनेर दुख दिने गरेको उनको भनाई छ । उनले यो अवस्था कसैका लागि सह्य नहुने बताए ।

ranechhap