नयाँ दिल्ली । भारतले नेपालसित सीमासहित सबै मुद्दाको समाधान गर्ने कुरा निकै महत्त्वपूर्ण भएको प्रधानमन्त्री दाहालले बताएका छन् । समकक्षी नरेन्द्र मोदीले बिहीबार संयुक्त पत्रकार सम्मेलनमा नेपालसित सीमासहित सबै मुद्दाको समाधान गर्ने बताएका थिए ।
शुक्रबार नयाँ दिल्लीमा पत्रकारहरूसँगको कुराकानीका क्रममा प्रधानमन्त्री दाहालले मोदीसँग आफूले तीन पटक ‘वान टु वान’ कुराकानी गरेको र त्यसबेलामा मोदीले नै सिमानाका कुराहरु सधैंका लागि हल गर्नुपर्छ भनेको उनले बताए ।
‘सीमानाको कुरा अर्को चर्को कुरा थियो । मोदीजीले मसँगको भेटमा सीमाका कुरा अब सधैंका लागि हल गर्नु पर्छ भन्नुभयो । अब गम्भीर रुपमा लागौं भन्नु भयो । उहाँले प्रेसमा पनि बोल्नु भयो– नेपालसँग सीमाका समस्या हल गरिन्छ भनेर । मलाई लागि रहेको थियो छलफलमा उठाउनुपर्छ भनेर । तर उहाँले नै यो कुराको सुरुआत गर्नुभयो ।’
समकक्षी मोदीले सीमानाको कुरा हल गर्ने कुरा ऐतिहासिक र महत्त्वपूर्ण भएको उनले बताए । प्रधानमन्त्री दाहालले भने, ‘मोदीजीले सिमानाका बारे यसअघि आफ्नो मुखबाट कहिल्यै भन्नु भएको थिएन । यो पनि यो पटकको भिजिटको एउटा ब्रेक थ्रु भयो ।’








































