16, Jul, 2024

फोनपे र एनएमबी क्यापिटलबीच परामर्शसेवा आईपीओ जारी गर्ने पूर्व तयारी सम्झौता

Bagmati Voice
संवाददाता
११ जेष्ठ २०८०, बिहीबार १२:०७ | १ साल अगाडी

काठमाडौं । नेपालको अग्रनी भुक्तानी प्रणाली सञ्चालक, फोनपे पेमेन्ट सर्भिस लिमिटेडले आईपीओ जारी गर्ने पूर्व तयारी सुरु गरेको छ । यसमा लागि फोनपे र एनएमबी क्यापिटलबीच परामर्शसेवा सम्बन्धी सम्झौता भएको छ । एनएमबी क्यापिटलले फोनपेलाई आफ्नो विशेषज्ञता र क्षमताका आधारमा आर्इपीओ जारी गर्ने सम्बन्धमा परामर्श सेवा प्रदान गर्नेछ ।

यो सम्झौतासँगै एनएमवी क्यापिटलले फोनपेलाई आईपीओ जारी गर्न चाहिने पूर्व तयारी गर्न सघाउने छ । पूर्व तयारीको काम सकिएपछि नियमक निकायबाट आवश्यक स्वीकृति लिर्इ फोनपेले सर्वसाधारणका लागि आईपीओे जारी गर्ने छ ।

फोनपे आईपीओ जारी गर्ने तयारीमा रहेको नेपालको पहिलो फिनटेक कम्पनी हो । नेपालको पूँजी बजारमा सार्वजनिक सूचिकृत कम्पनी बन्न पाइला चालिरहेको फोनपेको लागि एनएमबीसँग सम्झौता एक महत्वपूर्ण कोसेढुङ्गा बनेको छ ।

सम्झौतामा हस्ताक्षर गर्दै फोनपेका प्रमुख कार्याकारी प्रमुख दिवस सापकोटाले एनएमवीसँगको सम्झौताले आफूहरुलाई थप सहज हुने बताएका छन् । ‘हामीले साधारण शेयर जारी गर्ने मात्र भन्दा पनि प्रविधि क्षेत्रमा काम गरि रहेका नेपालका अन्य कम्पनीहरुलाई प्रेरणा दिन र बेन्चमार्क सेट गर्न खोजेका हौँ । यस सपनालाई हासिल गर्न हामीलाई आवश्यक पर्ने सहयोग र मार्गदर्शन गर्नका लागि एनएमबी क्यापिटलसँग सहकार्य गर्न लागेका हौं ।’ उनले भने ।

उनले थपे,‘फोनपे सर्वसाधारण जनताको सेवामा समर्पित छ, यो सम्झौताले हाम्रा सेवाहरू सबैका लागि पहुँचयोग्य बनाउने दृष्टिकोणलार्इ थप बल पुग्नेछ, नेपालमा आईपीओ ल्याउने विचार गर्ने पहिलो फिनटेक संस्थाको रूपमा, हामी एनएमबी क्यापिटलसँग यो परिवर्तनकारी यात्रा सुरु गर्न पाउँदा हर्षित छौं।’ यसले सम्भावित लगानीकर्ताहरूलाई फोनपेबारे सही र भरपर्दो जानकारीको सुनिश्चितता गर्ने उनको भनाइ छ ।

फोनपे नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको रूपमा इजाजतपत्र प्राप्त एक अग्रणी डिजिटल भुक्तानी नेटवर्क हो । सन् २०१९ देखि सञ्चालनमा रहेको फोनपेले बैंक तथा वालेट प्रदायकका ग्राहकहरूलाई मोबाइल फोन मार्फत नगदरहित भुक्तानी सेवा दिदै आएको छ ।

फोनपे नेटवर्कमा ५८ वटा भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरु सदस्य छन, १ करोड ८० लाख भन्दा बढि सन्तुष्ट सेवाग्राही र १२ लाख बढि मर्चेन्टहरु आवद्ध छन् । यसले दैनिक सात अर्बभन्दा बढीको नगद रहित कारोबारलाई सहजीकरण गरिरहेको छ । एनएमबी बैंकको सहायक कम्पनी एनएमबी क्यापिटल, नेपाल धितोपत्र बोर्ड (सेबोन) द्वारा इजाजतपत्र प्राप्त संस्था हो । यसले मर्चेन्ट बैंकिङको सेवा दिइरहेको छ ।

११ जेष्ठ २०८०, बिहीबार १२:०७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading