25, Sep, 2023

सोती घटना सम्झिँदै सीता मिजारले सोधिन्- नवराजजस्ता युवाले कहिलेसम्म मृत्युवरण गरिरहनुपर्ने ?

बागमती भ्वाइस न्युजडेस्क
१० जेष्ठ २०८०, बुधबार १५:१० | ४ महिना अगाडी

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा कांग्रेस सांसद सीता मिजारले सोती घटनाको स्मरण गर्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

उनले प्रेम गरेकै कारण नवराज विकजस्ता युवाले कहिलेसम्म मृत्युवरण गरिरहनुपर्ने ? भन्दै प्रश्न गरिन् । आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन राज्य गम्भीर बन्नुपर्नेमा उनको जोड छ ।

उनले भनिन्, ‘आजको दिनलाई सिंगो दलित समुदायले कालो दिनको रूपमा स्मरण गरेको छ । सायद यहाँहरूले बिर्सनुभयो कि ? २०७७ साल जेठ १० गते रूकुमपश्चिमको चौरजहारी नगरपालिका ८ सोति गाउँमा एउटा विभत्स र जघन्य सामूहिक हत्याकाण्ड भएको थियो ।

कथित ठूलो जातकीसँग प्रेम गरेकै कारण नवराज विक र पाँचजना साथीहरूलाई स्थानीयले लखेटीलखेटी हत्या गरेका थिए । अदालतमा मुद्दा विचाराधीन छ । चार वर्ष बित्यो पीडितले अझै न्याय पाउन सकेका छैनन् ।’

१० जेष्ठ २०८०, बुधबार १५:१० मा प्रकाशित