04, Oct, 2023

बुटवल उपमहानगरपालिकाले सार्वजनिक गर्‍यो एक वर्षका उपलब्धि

बागमती भ्वाइस न्युजडेस्क
१० जेष्ठ २०८०, बुधबार ०९:५० | ४ महिना अगाडी

रुपन्देही । बुटवल उपमहानगरपालिकाले १ वर्षका उपलब्धि सार्वजनिक गरेको छ । मङ्गलवार एक कार्यक्रमको आयोजना गरी उपमहानगरपालिकाले गत स्थानीय तहको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिले पदभार ग्रहण गरेको जेठ ९ गतेदेखि १ वर्षका उपलब्धि सार्वजनिक गरेको हो ।

बुटवल उपमहानगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेयले ४९ बुँदामा भिडियो सामग्रीसहितको उपलब्धि सार्वजनिक गरे ।

उपलब्धि तथा प्रयासहरू सार्वजनिक गर्दै उनले पदभार ग्रहण गरेदेखि बुटवल र बुटवलवासीको हितमा नीति निर्माण, बजेट निर्माण र कार्यान्वयन तथा संघ र प्रदेश सरकार, विभिन्न सरकारी कार्यालयहरू, सामाजिक संघसंस्थासँग सहकार्य र समन्वय गरी काम गर्दै आएको बताए ।

उनले बुटवलबासीले दिएको मतको उच्च सम्मान गर्दै आगामी ४ वर्षमा बुटवलको विकासमा फड्को मार्नेगरी काम गर्ने बताए । जनताको सेवकका रूपमा भूमिका निर्वाह गरिरहेको भन्दै उहाँले सधैँभर बुटवल र बुटवलवासीको पक्षमा हुने कामलाई लिएर संघ र प्रदेश सरकारलाई झकझक्याइरहेको बताए ।

‘म यो वार्षिक समीक्षाका र्यक्रममार्फत पुनः दोहोर्‍याउन चाहन्छु, हामी जनताका सेवक हौं, यहीअनुरूप प्रतिबद्ध भएर समृद्ध बुटवल बनाउने अभियानको महायज्ञमा निरन्तर सेवा भावले लागिरहने प्रतिबद्धता व्यक्त गर्दछु’–उनले भने–‘स्थानीय निर्वाचनमा बुटवलबासीले दिनुभएको अमूल्य मत, माया, सद्भाव र प्रेमलाई आफ्नो मन मस्तिष्कमा राखेर बुटवलबासी र बुटवलको हितलाई सर्वोपरि मानी आफ्नो क्षमता र विवेकले भ्याएसम्म निरन्तर समर्पित भई खटिइरहने प्रतिबद्धता जनाउँदछु ।’

नगरप्रमुख पाण्डेयले एक वर्षमा बुटवलका सबै क्षेत्र र समुदायलाई समेटेर अगाडि बढ्ने र सबैलाई बुटवल उपमहानगरपालिकाप्रति अपनत्व महसुस गराउने उद्देश्यका साथ चरणबद्ध रूपमा बुटवलका १० हजार भन्दा बढी जनासँग प्रत्यक्ष भेटघाट र संवाद गरी क्षेत्रगत सुझाव संकलन गरेको र त्यसकै आधारमा योजना निर्माण र कार्यान्वयन गर्दै जाने बताए ।

‘बुटवलका मुख्य चुनौतीका रूपमा देखिएका ज्योतिनगर–लक्ष्मीनगर, पाखापानी क्षेत्रको पहिरो, तिनाउ नदी कटान, अव्यवस्थित बसोबास, भूमिहीन, सुकुम्बासी समस्या, छाडा चौपाया व्यवस्थापन, ट्राफिक व्यवस्थापनजस्ता विषयमा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार तथा स्थानीय सरोकारवालासँग पटक पटक छलफल गरी समाधानका लागि अगुवाइ गरिरहेका छौं’–उनले भने ।

कार्यक्रममा सार्वजनिक उपलब्धि तथा प्रयासहरुमा बुटवल १३ र १७ मा १५÷१५ बेडका अक्सिजन सहितका दुई अस्पताल निर्माण सम्पन्न हुने चरणमा रहेको र चालु आर्थिक वर्षभित्रै उद्घाटन गरी आगामी साउनदेखि नै सञ्चालनमा आउने उनले बताए ।

आधुनिक पशु बधशाला निर्माण सम्पन्न भई छिटै नै सञ्चालन गर्ने तयारीमा रहेको र बुटवलका मुख्य सडक क्षेत्रका अव्यवस्थित ठेला हटाइ वडाको आवश्यकता र समय निर्धारण गरी ठेला सञ्चालन गर्न अनुमति दिने निर्णय भएको प्रमुख पाण्डेयले बताए ।

बुटवल–१५ सेमलारमा नेपालकै आधुनिक र व्यवस्थित कृषि बजार केन्द्र स्थापना गर्ने कामका लागि इआइए भइरहेको, नगरको मुख्य राजमार्ग, बस टर्मिनल, सुखौरा खोला, १६–३६ नहर, कालिका पथ लगायतका सार्वजनिक स्थानहरूको नियमित तथा विशेष सरसफाइ अभियान सञ्चालन गरिएको बताए ।

कार्यक्रममा बुटवल ३ र ४ का ज्योतिनगर–लक्ष्मीनगर तथा पाखापानी पहिरोबाट प्रभावित क्षेत्रहरुमा पर्खाल, कल्भर्ट, जाली र वृक्षारोपण गरी सुरक्षित बनाउने, ज्योतिनगरका पहिरो क्षेत्रका जोखिमयुक्त घरहरूको प्रकोप व्यवस्थापन कोषबाट बीमा गर्ने प्रमुख पाण्डेयले बताए ।

यस्तै, तिनाउ नदी किनार, सुखौरा खोला किनारका बस्तीमा बाढीले जोखिम पुर्‍याउनबाट रोक्नका लागि नदीको विभिन्न स्थानमा तटबन्ध गर्ने, च्यानलाइज गर्ने र तारजाली लगाउने काम भइरहेको उपलब्धि तथा प्रयासमा समेटिएको छ ।

यस्तै गरी, सडक क्षेत्रमा अव्यवस्थित रूपमा रहेका विद्युत्, इन्टरनेट, केवलका तारहरुले सहरको सौन्दर्य बिगारेका कारण व्यवस्थित गर्ने काम निरन्तर सञ्चालन भइरहेको, चार प्रकारका जटिल रोगहरु मिर्गौला प्रत्यारोपण गरेका, डायलाईसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका १ सय ९० जना बिरामीहरुलाई मासिक ५ हजार, जटिलरोग अनुदान सहयोग कार्यक्रमअन्तरगत १ सय ४५ जनालाई प्रति बिरामी १७ हजार बिरामीकै बैंकखातामा उपलब्ध गराइएको र आठ प्रकारका जटिल रोगीमध्येका १ सय ४५ जनालाई संघीय सरकारमा र ४३ जनालाई प्रदेश सरकारमा सिफारिश गरिएको उपलब्धिमा समेटिएको छ ।

उपप्रमुख सावित्रादेवी अर्यालले निर्वाचित भएर आएदेखि स्थानीय, प्रदेश र संघीय सरकारकै काममा आफुहरुले समय खर्चेको बताइन ।

उनले संघ र प्रदेश सरकारले गर्ने काममा केही समन्वय अभावका कारण केही योजनाहरु अलमलमा परेको र स्थानीय सरकारले समन्वय र सहकार्य गर्दै आएको बताइन ।

प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवलको सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउँदै सरल पहुँच र सहज सेवा उपलब्ध गराउन सधैँ तयार रहेको बताए ।

१० जेष्ठ २०८०, बुधबार ०९:५० मा प्रकाशित