
काठमाडौं । एमाले उपमहासचिव विष्णु रिमालले धरानका मेयर हर्क साम्पाङमाथि गरेको विवादित टिप्पणीलाई सच्याएका छन् ।
उनले ‘बहुलाउनु’ लाई सकारात्मक अर्थमा व्याख्या गर्दै सामाजिक सञ्जालमा आफ्नो प्रष्टीकरण दिएका छन् ।
एउटा भाषणमा रिमालले साम्पाङलाई ‘बहुला टाइपको मेयर’ भनेपछि आलोचना सुरु भएको थियो । आफूमाथि आएका आलोचना स्वीकार्ने बताउँदै उनले लेखेका छन्, ‘हो, अब हामी बहुलाउनै पर्छ ।’
रिमालले धरानका मेयर धरानेलाई पानी खुवाउन ‘बहुलाएर’ लागेको बताएका छन् ।
‘त्यसैले मैले पनि भनेको छु, बहुला पाराले काम गर्ने… धरानमा थाहा छैन तर बाहिर पपुलर मेयर ।’
उनले आफू पनि काम गर्दा बहुलाउने मानिस भएको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली ‘नाकाबन्दीका सामना गर्दा बहुलाएरै भिडेको उनको टिप्पणी छ ।
यस्तो छ रिमालको स्टाटसः
०७२ सालमा संविधान निर्माण गर्न हामी “बहुलाएरै” लागेका थियौँ ।
त्यसपछिको नाकाबन्दीको सामना गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली “बहुलाएरै” भिड्नु भएको थियो । जनताले साथ दिए, मुलुकले सफलता हासिल गर्यो ।
०७४ को चुनावपछि हामी “बहुलाएरै” काममा जोतिएका थियौँ ।
आधा शताब्दीसम्म हाम्रो सम्प्रभुता बाहिर रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानी… हामीले “बहुलाएरै” नक्सामा सामेल गर्यौँ । सिंगो मुलुक एक ठाउँमा उभियो ।
अहिले धरानका मेयर, धरानेलाई पानी खुवाउन “बहुलाएर” लागेका छन् । सबैलाई ‘श्रमदान गर भनिरहेका छन् । त्यसैले मैले पनि भनेको छु– “बहुला पाराले” काम गर्ने … धरानमा थाहा छैन, तर बाहिर पपुलर मेयर !
म पनि काम गर्ने मामिला “बहुलाउने” मानिस हुँ ।
हो, मुलुकमा केही गर्न हामी अब “बहुलाउनै” पर्ने भो !
फेरी पनि मेरो यो शब्द प्रयोगमा विभिन्न व्यक्तिहरूको असहमति देख्छु, सामाजिक सञ्जालमा आलोचना गरिरहेको देख्छु । म ती आलोचना स्वीकार्छु, धन्यवाद !