16, Jul, 2024

विदेशमन्त्रीको रिपोर्टमा आपत्ति जनाउँदै राप्रपाद्वारा अमेरिका दूतावासलाई पत्र

Bagmati Voice
संवाददाता
६ जेष्ठ २०८०, शनिबार ११:२९ | १ साल अगाडी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अमेरिकाले सार्वजनिक गरेको ‘धार्मिक स्वतन्त्रता सम्बन्धित प्रतिवेदन’मा गरिएको दाबीको खण्डन गर्दै काठमाडौंस्थित अमेरिकी दूतावासलाई पत्रचार गरेको छ । रिपोर्टमा लगाइएको आरोप तथ्यहीन र पूर्वाग्रही रहेको राप्रपाले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रीको प्रतिवेदनमा नेपालका नेताहरुलाई भारतीय जनता पार्टीले हिन्दू राष्ट्रको पक्षमा वकालत गर्नका लागि आर्थिक सहयोग गरेको दावी गरिएको थियो । प्रतिवेदनमा राप्रपाको नाम किटान गरिएको छ । यसलाई राप्रपाले औपचारिकरुपमा खण्डन गरेको हो ।

अध्यक्ष राजेन्द्र लिङदेनद्वारा हस्ताक्षरित पत्रमा राप्रपा संवैधानिक राजतन्त्र, मानव अधिकार तथा सम्पूर्ण धर्महरुलाई समान सम्मान तथा स्वतन्त्रतासहितको हिन्दू राज्यको पक्षमा रहेको उल्लेख छ ।

केन्द्रदेखि स्थानीय तहसम्म सोही कुराको वकालत गर्दै आएकोमा तर हालै मात्र अमेरिकाको विदेश मन्त्रालयद्वारा सार्वजनिक गरिएको प्रतिवेदनमा राप्रपालाई जोडेर गरिएको दाबी सरासर झुट्टो र आधारहिन रहेको लिङदेनले बताएका छन् ।

‘प्रतिवेदनमा राप्रपा विरुद्ध आधारहिन आरोपहरु लगाइएका छन्,’ पत्रमा भनिएको छ ।

रिपोर्टमा नागरिक समाजका सदस्यहरूको भनाइलाई उद्धृत गर्दै निष्कर्ष निकालेको जनाइए पनि ती नागरिक समाजका सदस्यहरु को हुन् भन्ने उल्लेख छैन । यस बाहेक राप्रपाको स्पष्टीकरण र धारणा समावेश नगरिएकोमा पनि पत्रमा आलोचना गरिएको छ ।

‘उक्त प्रतिवेदन एकतर्फी, पूर्वाग्राही असुन्तलित र अविश्वनीय छ,’ पत्रमा भनिएको छ । राप्रपाले अमेरिकी विदेशमन्त्रीको प्रतिवेदनलाई पुनरावलोकन र संसोधन गर्न सुझाव दिएको छ ।

यो प्रतिवेदनले राप्रपाको छविलाई धमिलो बनाउने र आम मानिसमा गहिरो आघात पुग्ने हुँदा यि आधारहिन आरोपमा सुधार गर्नका निमित्त पनि राप्रपाले आवह्रान गरेको छ ।

अमेरिकाले हालै सार्वजनिक गरेको धार्मिक स्वन्त्रतासम्बन्धित प्रतिवेदनले नेपालका प्रभावशाली नेताहरुले र त्यसमा पनि विशेष गरेर राप्रपाले भारतीय जनता पार्टी र सो पार्टी निकट संस्थाबाट आर्थिक लाभ लिई नेपालमा हिन्दू धर्मको प्रचार तथा हिन्दू राष्ट्र कायम गर्न दबाब दिने गरेको दाबी गरेको थियो । यस प्रतिवेदनलाई छिमेकी मुलुक भारतले पनि आधारहीन र झुट्टो प्रतिवेदनको संज्ञा दिएको छ ।

६ जेष्ठ २०८०, शनिबार ११:२९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading