काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग र सम्पती शुद्धीकरण सम्बन्धी विधेयकलाई छिट्टै टुंगोमा पुर्याउनुपर्ने बताएका छन् ।
मंगलबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक र सम्पती शुद्धीकरण(मनि लाउण्डरिङ्ग) निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९ लाई छिट्टै टुंगोमा पुर्याउनुपर्ने बताएका हुन् ।
उनले यी दुवै विधेयकहरुको महत्वलाई बुझ्दै छिटोभन्दा छिटो प्रक्रियामा लगेर अगाडि बढाउनुपर्ने बताए ।
उनले भने, ‘हामीले धेरै लामो यात्रा गरिसकेका छौँ। एउटा व्यवस्थाबाट अर्को व्यवस्थामा आएर हामीले शान्तिप्रक्रियालाई अगाडि बढाउँदै सेना समायोजन गरिसकेको, संविधान समेत लेखिसकेको। अब रह्यो हात्ति छिर्यो, पुच्छर अड्क्यो भन्ने सुन्ने गर्थ्यौ, त्यस्तै भएको छ। यसलाई छिटोभन्दा छिटो प्रक्रियामा लगेर अगाडि बढाउनु हुनेनै छ भन्ने मेरो विश्वास छ । मनि लाउन्ड्रिङको विधेयकमा पनि संशोधन आएको छ । हामीले समयमै टुंगो लगाउन सकेनौँ भने दुनियाँकै अगाडि लज्जित हुनुपर्ने अवस्था छ।’
मन्त्री गुरुङले समितिले दिने निर्देशनलाई नेपाल सरकारले अंगिकार गर्ने बताए ।






































