
सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथामा वसन्त ऋतुको पहिलो सफल आरोहण गरिएको छ । आइतबार बिहान पौने ९ बजे ३ विदेशी र ३ नेपाली गरी ६ जना आरोहीले सगरमाथा चुचुरोमा सफलतापूर्वक पाइला टेकेसँगै यो सिजनको आरोहण सुरु भएको हो ।
पहिलो आरोहण गर्नेमा पाकिस्तानी नागरिक माइली तानी, अमेरिकी महिला आरोही जेसिका र हंगेरियन मटन टी सेर्स रहेका छन् । त्यस्तै, यो पहिलो आरोहणबाटै नेपाली आरोही पासाङ दावाले २६ औं पटक सगरमाथा चढेर कीर्तिमान राखेका छन् । खुम्बु पासाङल्हमु गाउँपालिका–४ पाङबोचे निवासी पासाङ दावा शेर्पाले २६ औं पटक सगरमाथाको शिखर चुमेर नयाँ कीर्तिमान राखेको सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी) का अध्यक्ष लामाकाजी शेर्पाले बताए ।
त्यस्तै, आजै सफल आरोहण गर्नेमा खुम्बुपासाङल्हमु– ५ थामेका पासाङतेम्बा शेर्पा र सोही गाउँका आङनिमा शेर्पा रहेका छन् । अहिले आधार शिविर भन्दा माथि सैयौंको संख्यामा आरोहीहरु चुचुरोतर्फ लागेका छन् । हिजो दिउँसो मात्रै चुचुरोसम्म आइसफल डाक्टरहरुले डोरी टाँग्ने काम सम्पन्न गरेका थिए ।
आरोहणको ७० वर्षे इतिहासमा पहिलो पटक सगरमाथामा यसपटक धेरै आरोहीले आरोहण अनुमति लिएका छन् ।