19, May, 2024

गण्डकीमा मनाङेसहित ४ मन्त्री नियुक्त, ४ बजे शपथ

Bagmati Voice
संवाददाता
२९ बैशाख २०८०, शुक्रबार १३:२८ | १ साल अगाडी

पोखरा । गण्डकी प्रदेश मन्त्रिपरिषदको बिस्तार भएको छ । नेपाली कांग्रेसबाट २, नेकपा माओवादीबाट २ र एकीकृत समाजवादीबाट १ जना गरी ७ सदस्यीय मन्त्रिपरिषद बनाइएको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्रबहादुर थापालाई मन्त्री नियुक्त गरेका छन् भने एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) र माओवादीबाट रेशमबहादुर जुग्जाली नियुक्त भएका छन् ।

मन्त्रालयको नाम भने सपथसँगै सार्वजनिक गर्ने मुख्यमन्त्री पाण्डेले बताएका छन् । ४ बजे मन्त्रीको सपथ कार्यक्रम राखिएको छ ।

वैशाख ९ गते एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस–माओवादीसहितको गठबन्धनबाट गत वैशाख १४ गते पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन् ।

१५ गते सपथसँगै कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशीला सिम्खडालाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए ।

ग्रेसभित्रै धेरै मन्त्रीका आकांक्षी हुँदा मुख्यमन्त्री पाण्डेलाई सकस परेको थियो भने मनाङबाट स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरका मनाङेलाई मन्त्री बनाउने कि नबनाउने भन्ने द्विविधा पनि उनमा थियो ।

मनाङेलाई मन्त्री बनाउन केन्द्रीय तहबाटै दबाब आएपछि अन्तत मनाङे गण्डकी सरकारको चौथो पटक मन्त्री हुन सफल भएका छन् ।

नवलपुरका महेन्द्रध्वज संविधान सभा सदस्य भइसकेका हुन् भने कांग्रेस संसदीय दल गण्डकीमा नेताको दाबेदार पनि थिए ।

शेखर–गगन समूहका महेन्द्रध्वजले अन्तिममा स्याङ्जाका भोजराज अर्यालको प्रस्तावक बनेका थिए । उनी नेपाली कांग्रेस गण्डकीको सभापतिसमेत हुन चाहेका थिए ।

बागलुङका थापा जिल्ला पूर्व जिल्ला सभापतिसमेत हुन् भने २०७४ मा एमालेका इन्द्रलाल सापकोटासँग प्रदेश सभामा पराजित भएका थिए ।

रेशम जुग्जाली खगराज अधिकारी सरकारमा पर्यटनमन्त्री थिए । यसअघि १२ मन्त्रालयसम्म रहेको गण्डकीमा खगराज अधिकारीले ७ मा झारेका थिए । पाण्डेले पनि मन्त्रालयको संख्या सोही कायम गर्ने घोषणा त्यही बेला नै गरेका थिए ।

मुख्यमन्त्री पाण्डेले यसअघि नेपाली कांग्रेसबाट सरस्वती अर्याल र माओवादी केन्द्रबाट सुशीला शि‌म्खडालाई मन्त्री नियुक्त गरिसकेका छन् ।

२९ बैशाख २०८०, शुक्रबार १३:२८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading