25, Sep, 2023

लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न दललाई निर्वाचन आयोगको निर्देशन

बागमती भ्वाइस न्युजडेस्क
२८ बैशाख २०८०, बिहीबार १६:२० | ४ महिना अगाडी

काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आर्थिक वर्ष २०७८/०७९ को लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको छ । आयोगले कानुनबमोजिम आयोगमा लेखा परीक्षण प्रतिवेदन बुझाइसकेका ८२ राजनीतिक दललाई एक साताभित्र प्रतिवेदन सार्वजनिक गर्न र त्यसको जानकारी आयोगलाई गराउन निर्देशन दिएको हो ।

‘आर्थिक वर्ष २०७८/७९ को लेखा परीक्षण प्रतिवेदन तोकिएको समयसीमाभित्रै पेस गर्ने ८२ (बयासी) राजनीतिक दललाई आयोगमा पेस गरेको लेखा परीक्षण प्रतिवेदन ७ (सात) दिनभित्र सम्बन्धित दलको कार्यालय वा वेबसाइट, आमसञ्चारमाध्यम (पत्रपत्रिका, रेडियो, टेलिभिजन आदि), सामाजिक सञ्जाल (फेसबुक, ट्विटर, ईन्स्टाग्राम) का माध्यमबाट सार्वजनिक गरी सार्वजनिक गरेको मितिले ७ (सात) दिनभित्र सोको जानकारी आयोगमा गराउन निर्देशन दिएको छ,’ आयोगले विज्ञप्तिमार्फत भनेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राजनीतिक दलहरूलाई लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको जानकारी दिए ।राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा (१) बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र कानुनबमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र आयोगमा सो लेखा परीक्षण प्रतिवेदन पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । जसअनुसार आयोगमा ८२ दलले त्यस्तो विवरण अद्यावधिक गराएका छन् । आयोगले निरन्तर दुई आर्थिक वर्षसम्म प्रतिवेदन पेस नगर्ने राजनीतिक दललाई त्यस्तो प्रतिवेदन पेस नगर्नुको कारण सोधेको छ ।

आयोगकाअनुसार मुस्कान सेना नेपाल पार्टी, शिव सेना नेपाल, आम आदमी पार्टी नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक र नेपाल कम्युनिष्ट पार्टी लोकतान्त्रिकले लेखा परीक्षण प्रतिवेदन बुझाएका छैनन् । आयोगले ती दललाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा (५) को खण्ड (क) बमोजिम किन कारवाही गर्न नपर्ने भन्दै स्पष्टीकरणसमेत सोधेको छ ।

त्यस्तै, लेखा परीक्षण प्रतिवेदन समयमा पेस नगर्ने दलहरूलाई पनि आयोगले ढिला हुनुका कारणबारे पत्राचार गरेको छ ।

२८ बैशाख २०८०, बिहीबार १६:२० मा प्रकाशित