
काठमाडौं। क्यानडा तथा चेक रिपब्लिक पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका-४ ढकालगाउँ घर भई हाल काठमाडौ महानगरपालिका-१६ नयाँ बजार बस्ने ३४ वर्षीय उद्धव नेपाल भन्ने सुवर्ण मग्राती रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौंको नयाँ बजारबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
उनले पीडित बाबुराम सापकोटासहित ४ जनालाई वैदेशिक रोजगारका लागि क्यानडा र चेक रिपब्लिकलगायतका देशमा पठाइदिन्छु भनी ५० लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।