25, Sep, 2023

राप्रपा नेपालको नाम र चुनाव चिन्ह फेर्ने तयारीमा कमल थापा, प्रदेश कमिटीहरू पनि खारेज गर्ने प्रस्ताव

बागमती भ्वाइस न्युजडेस्क
२७ बैशाख २०८०, बुधबार ११:१९ | ४ महिना अगाडी

काठमाडौं । राप्रपाबाट फुटेर बनेको राप्रपा नेपालले नाम र चुनाव चिन्ह परिवर्तनका लागि छलफल थालेको छ । पार्टी गठनको लामो समयसम्म पनि कुनै गति लिन नसकेपछि कमल थापाले नयाँ शिराबाट अघि बढ्न खोजेका हुन् ।

राप्रपा नेपालले आगामी ९ र १० गते जिल्ला अध्यक्ष सहित केन्द्रीय कार्यसमितिको बैठक काठमाडौंमा बोलाएको छ । सो बैठकमा नाम र चुनाव चिन्हबारे छलफल हुने पार्टीका महामन्त्री राजाराम वर्तौलाले बताए ।

पार्टीलाई नयाँ ढंगबाट अगाडि बढाउन नाम र चुनाव चिन्ह परिवर्तनको प्रस्ताव आएको उनले जानकारी दिए ।

‘एउटा त राप्रपासँग नाम जुधेकाले अलिकति असहज भइरहेको छ । अर्को, राप्रपा भन्नासाथ पञ्चायतकालीन लिगेसीसँग जोडिने भएकाले नयाँपनको आभास हुन सकिरहेको छैन ।

जनताले परिवर्तन खोजिरहेको अवस्थामा हामीले पनि नयाँ विचार र नयाँ ब्रान्डिङ गरेर जाने सोच बनाएका हौँ,’ उनले भने ।

पार्टीको चुनाव चिन्ह तिरले पनि जनतालाई आकर्षण नगरेको निष्कर्षमा नेताहरू पुगेका छन् । त्यसैले चुनाव चिन्ह पनि परिवर्तनको प्रस्ताव गरिएको छ । यसबारे केन्द्रीय समिति बैठकले निर्णय लिने बर्तौलाले बताए ।

राप्रपाले आफ्ना प्रदेश कमिटीहरू भङ्ग गर्ने तयारीसमेत गरेको छ । हालै बसेको सचिवालयको बैठकमा पार्टी संघीयताको विरुद्धमा उभिएकाले प्रदेश कमिटीहरू बनाउनुको औचित्य नरहेको कुरा उठेको थियो । केन्द्रीय समिति बैठकले यस विषयमा पनि निर्णय लिने भएको छ ।

२७ बैशाख २०८०, बुधबार ११:१९ मा प्रकाशित