वि.सं.२०८३ वैशाख ७ सोमवार

‘एमसीसी पारित गराउन ओली समूह र कांग्रेसको सरकार बन्ने सम्भावना छ’- मोहनविक्रम सिंह

khanepani

बुटवल । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेकपा ओली समूह र कांग्रेस गठबन्धनको सरकार बन्ने सम्भावना रहेको बताएका छन । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे एजेण्डा मिल्ने भएकाले नयाँ सत्ता समीकरणमा ओली र कांग्रेसको गठबन्धन बन्ने सिंहको पूर्व अनुमान छ ।

प्रगतिशील पत्रकार संघ रुपन्देहीले बिहीबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवै एमसीसी पारित गर्ने पक्षका कारिन्दा भएको बताएका छन।

‘एमसीसी पारित गराउन ओली समूह र कांग्रेसको सरकार बन्ने सम्भावना छ,’ सिंहले भने, ‘एमसीसी पारित भए नेपाल अमेरिकी सैन्य अखडा हुन्छ, त्यसैले पारित हुन नदिन त्यतातिर ध्यान दिनुपर्छ ।’

अब नेपालमा भारत, अमेरिका लगायत विदेशी शक्तिको चलखेल बढ्ने सिंहले बताए । संसद विघटनले नेपालमा भारत–अमेरिका पक्ष बलियो र चीन पक्ष कमजोर भएको सिंहको विश्लेषण छ ।

‘अस्थिरताको कारक ओली’

प्रधानमन्त्री ओलीमा नैतिकता भए तत्काल राजीनामा दिनुपर्नेसमेत उनले बताए । ‘नैतिकता भए ओलीजीले राजीनामा दिनुपर्छ, तर अहिले उहाँमा नैतिकता देखिएको छैन,’ महामन्त्री सिंहले भने ।

प्रतिनिधिसभा पुनर्स्थापनाले संविधान थप बलियो र विश्वसनीय भए पनि राजनीतिक अस्थिरता भने बढ्ने उनले अनुमान गरे । राजनीतिक अस्थिरताको कारक भने स्वयं ओली नै रहेको उनले बताए ।

ranechhap