04, Oct, 2023

सरकारले लोक सेवामा आवेदन दिएका ४ लाखको डाटासमेत सुरक्षित राख्न सकेन: निशा डाँगी

बागमती भ्वाइस न्युजडेस्क
२६ बैशाख २०८०, मंगलवार १३:२९ | ४ महिना अगाडी

काठमाडौ । काठमाडौ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले लोक सेवा आयोगमा दरखास्त दिएका झन्डै ४ लाख आवेदकको डाटा हराएको बताएकी छन्।

२०७९ मंसिर, पुस र माघमा आयोगमा दरखास्त दिएका आवेदकको डाटा हराएको र रिकभरका लागि २ महिनाभन्दा बढी प्रयास गर्दासमेत रिकभर नभएको उनको भनाइ छ।

‘डाटा पुनर्प्राप्तिका लागि प्रयास गरेको २ महिनाभन्दा बढी हुँदा पनि रिकभर नभएपछि लालमर्दो तरिकाले आयोगले फेरि दरखास्त आह्वान गरेको छ,’ प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद डाँगीले भनिन्।

सरकार र आयोगले डाटा सुरक्षित राख्न नसकेको उनको भनाइ छ।

‘विश्वमा प्रविधिले यस्तो फड्को मारिरहँदा हाम्रो सरकारले ४ लाख आवेदकको डाटासमेत सुरक्षित राख्न सकिरहेको छैन,’ उनले भनिन्, ‘लोक सेवा आयोगजस्तो जिम्मेवार निकायले डाटा सुरक्षित राख्न नसक्नु, रिकभर गर्न नसक्नु र फेरि फराम भर्न लगाउनु कतिसम्म लापरबाही हो?’

उनले सरकार र आयोगलाई युवाको भविष्यमाथि खेलवाड नगर्न पनि आग्रह गरेकी छन्। डाटा रिकभर नभए जिम्मेवार निकायमा रहेकालाई कारबाही गर्न उनले माग गरेकी छन्।

२६ बैशाख २०८०, मंगलवार १३:२९ मा प्रकाशित