25, Sep, 2023

मोर्चा गठनका लागि नेकपा (माओवादी केन्द्र), जनता समाजवादी र नेकपा एकीकृत समाजवादीले आआफ्नो पार्टीभित्र छुट्टा छुट्टै कार्यदल गठन गरे

बागमती भ्वाइस न्युजडेस्क
२५ बैशाख २०८०, सोमबार १८:५४ | ४ महिना अगाडी

काठमाडौं। लामो समयदेखि गठनको चर्चामा रहेको ‘समाजवादी मोर्चा’को आधार पत्र तयार भएको छ । मोर्चा गठनका लागि नेकपा (माओवादी केन्द्र), जनता समाजवादी र नेकपा एकीकृत समाजवादीले आआफ्नो पार्टीभित्र छुट्टा छुट्टै कार्यदल समेत गठन गरेका छन् ।

माओवादीले उपाध्यक्ष कृष्णबहादुर महरा, एकीकृत समाजवादीले महासचिव बेदुराम भुसाल र जसपाले बरिष्ठ नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा कार्यदल कार्यदल बनाएको छ। तीनवटै दलले बनाएको कार्यदलबीच छलफल भएर मोर्चाको आधार पत्र तयार भएको कार्यदलका एक सदस्यले अनलाइनखबरलाई जानकारी दिए ।

त्यसलाई शीर्ष नेताहरुले छलफल गरेर अन्तिमरुप दिन भने बाँकी छ । अहिले गठबन्धन, सरकारको नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित भएका कारण शीर्ष नेताहरुले आधार पत्रबारे विस्तृत छलफल हुन नसकेको एक नेताले जानकारी दिए।

१५ बुँदामा तयार पारिएको आधार पत्रमा सरकारले हालै ल्याएको न्यूनतम साझा कार्यक्रमका धेरै विषय समेटिएकोक ती सदस्यले बताए ।आधार पत्रमा समाजवादी मोर्चाको आवश्यकताबारे प्रस्तावनामा लेखिएको छ।

प्रस्तावनमा मुख्य गरि तीन उदेश्य लेखिएको छ । त्यसमा वर्तमान व्यवस्थाको रक्षा, अर्थतन्त्रमा देखिएका समसया समाधान र आर्थिक-समाजिक विभेद अन्त्य गरि समृद्धि हासिल गर्ने विषय उल्लेख गरिएको छ।

प्रस्तावनामा भनिएको छ, ‘नेपालमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता, राजनीतिक स्थायित्व रक्षा गर्न, राष्ट्रियताको रक्षा र अर्थतन्त्रमा भइरहेका समस्या समाधान गर्दै नेपाललाई सुशासन र समृद्धिको बाटोमा लैजान, हरेक खालका भाषा, धर्म, संस्कृतिका आधारमा भएको विभेद अन्त्य गरि समतामुलक समृद्धिको सिर्जना गर्न ।’

त्यस्तै आधार पत्रमा मोर्चाको गठन विधि, संचालन, निर्णय प्रक्रिया र मोर्चा आवद्ध दलहरुबीचको स्वायत्तता के हुन्छ भन्ने विषय उल्लेख गरिएको छ।

प्रारम्भिक चरणमा संसदमा रहेका तीन दलबीच मात्रै मोर्चा बनाउने गृहकार्य भएको भए पनि त्यसमा अरु केही दल पनि समावेश गरिने भएको छ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी पनि मोर्चामा हुने बताइएको छ।

त्यस्तै संसद बाहिर रहेका केही दललाई पनि मोर्चामा ल्याउने गृहकार्य भइरहेको माओवादीले बनाएको कार्यदलका संयोजक कृष्णबहादुर महराले जानकारी दिए। उनका अनुसार त्यसमा विशेष गरि नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई ल्याउन जोड दिइएको छ । ‘हाम्रो पार्टी माओवादी केन्द्रसहित ६ पार्टीबीच समाजवादी मोर्चा बनाउनेबारे छलफल जारी रहेको छ,’ महराले भने।

विप्लव पनि मोर्चामा आउन सकरात्मक देखिएको माओवादी नेताहरु बताउने गर्छन । पछिल्लो समय उनले माओवादी नेताहरुसँग निकटता पनि बढाएका छन् । मोर्चामा आवद्ध दलहरुबीच कुरा मिल्दै गए पार्टी एकतासम्म पुर्‍याउने चाहाना माओवादीको छ ।

‘मोर्चामा सहभागी विचार र कार्यक्रम मिल्ने पार्टीबीच एकता गर्ने नभए राष्ट्र र राष्ट्रियता र जनजिवीकाका सवालमा सहकार्य गर्ने सहमति भएको छ,’ महराले भने । एकीकृत समाजवादीले १० बैशाखमा आयोजना गरेको कार्यक्रमा माओवादी केन्द्र र एकीकृत समाजवादीका अध्यक्षद्वयले चाँडै मोर्चाको घोषणा हुने बताएका थिए ।

तर, तत्काल भने मोर्चा गठन नहुने भएको छ । केही समय नीति तथा कार्यक्रम र बजेट निर्माणमा केन्द्रित हुनुपर्ने भएकाले त्यसमा समय दिन नसकिने नेताहरुले बताएका छन् ।

२५ बैशाख २०८०, सोमबार १८:५४ मा प्रकाशित