25, Sep, 2023

प्रधानमन्त्रीसँग भेटेपछि मुख्यमन्त्री शाहले भने, ‘सरकार छिट्टै विस्तार हुन्छ’

बागमती भ्वाइस न्युजडेस्क
२५ बैशाख २०८०, सोमबार १२:४० | ४ महिना अगाडी

धनगढी । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेर बाहिरिएका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले छिट्टै प्रदेश सरकार विस्तार हुने बताएका छन् ।

२६ माघमा मुख्यमन्त्रीमा नियुक्त भएका शाहले सोमबार बिहान माओवादीका प्रदेश सभा सदस्यहरुसहित सरकार विस्तारबारे प्रधानमन्त्रीसँग छलफल गरेका हुन् ।

‘आजबाट सुदूरपश्चिम प्रदेश सरकार विस्तारबारे छलफल सुरु भएको छ, छिट्टै टुंगिन्छ, ‘मुख्यमन्त्री शाहले भने ।

गठबन्धनमा आवद्ध दलहरुको शीर्ष तहमा छलफल भएपछि पार्टीबाट आउने निर्देशनअनुसार अघि बढ्ने बताउँदै शाहले आज वा भोलिमै सरकार विस्तार हुन्छ भनेरचाहिं ठोकुवा गर्न नसक्ने प्रतिक्रिया दिए । ‘आजवाभोलि नै हुन्छ भनेर भन्न सकिने अवस्था भएन । किनकि शीर्ष तहमा हुने छलफल र सहमतिपछि पार्टीले दिने निर्देशनअनुुसार नै अघि बढ्ने हो,’उनले भने ।

प्रधानमन्त्रीलाई प्रदेश सरकार विस्तारबारे कुरा राखेको बताउँदै शाहले गठबन्धनको कार्यदलमा शीर्ष नेताहरु छलफल गरेर टुंग्याउने भनेको पनि जनाए । ‘प्रधानमन्त्रीज्यूले शीर्ष तहमा आज नै कुरा चलाउछौं भन्नुभएको छ,’ उनले भने ।

मुख्यमन्त्री शाहले प्रधानमन्त्रीलाई अगामी वर्षको बजेटको तयारी पनि गर्नुपर्ने भएकाले सरकार मन्त्रिपरिषद् विस्तारका लागि वातावरण बनाइदिन समेत आग्रह गरेका छन् ।

बैठकमा माओवादीले दाबी गरिरहेको आर्थिक मामिला वा भौतिक पूर्वाधार विकास मन्त्रालय दिननसक्ने कुरा पनि मुख्यमन्त्रीले राखेका थिए ।

माओवादीका सांसदहरुले महत्वपूर्ण मन्त्रालय नपाउने अवस्थामा तीन वटा दिनुपर्ने कुरा राखेका थिए । मुख्यमन्त्री शाहले भागबन्डाका सम्बन्धमा भने कुराकानी नभएको प्रतिक्रिया दिए ।

२५ बैशाख २०८०, सोमबार १२:४० मा प्रकाशित