25, Sep, 2023

राष्ट्र बैंकले मौद्रक नीति लचिलो बनाउने प्रतिबद्धता गरेको छ : अर्थमन्त्री महत

बागमती भ्वाइस न्युजडेस्क
२४ बैशाख २०८०, आईतवार १३:३१ | ४ महिना अगाडी

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिले अर्थतन्त्रमा शिथिलता आउनुको धेरै कारण रहेको र लचिलो मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउनुपर्ने बताएका छन् ।

उनले बैंक तथा वित्तीय संस्था परिसंघद्वारा आयोजित नेपाल व्यवसाय शिखर सम्मेलन २०८० लाई सम्बोधन गर्दै वित्त नीतिबाट पूँजी परिचालन गर्न नसकेको र कोरोना महामारीको कारण मौद्रिक उपकरणमार्फत अत्याधिक कर्जा प्रवाह भएको बताए । यस्तो समस्या वित्त नीतिभन्दा मौद्रिक नीतिले निम्त्याएको उनको भनाइ छ ।

‘अहिले हामीसँग फिस्कल स्पेस छैन । फिस्कल स्पेस पनि बढाउनु पर्छ । तर, अहिले मनिटरी स्पेसमार्फत अर्थतन्त्र चलायमान हुन सक्छ । राष्ट्र बैंकका अधिकारीहरुले यो महिनाको अन्त्यसम्ममा मौद्रिक नीतिको समीक्षामार्फत लचिलो नीति लिने प्रतिबद्धता जनाउनुभएको छ,’ डा. महतले भने, ‘राष्ट्र बैंकले लचिलो मौद्रिक लियो भने ब्याजदर घट्छ भन्ने विश्वास छ । फिस्कल स्पेसमार्फत पूँजी परिचालन गर्न सक्ने अवस्था नभएकाले लचिलो मौद्रिक नीति लिँदै मौद्रिक उपकरणमार्फत आर्थिक गतिविधि बढाउनुपर्छ ।’

मन्त्री डा. महतले पूँजी प्रवाहका लागि मौद्रिक नीति छिटो ल्याउन जरुरी भएको उल्लेख गरे ।

‘तेस्रो चौमासिक सकिँदा पनि खर्च शून्य छ । अब पूँजीगत खर्च गर्नुपर्‍यो, अब ठेक्का लगाउनुपर्‍यो, अब बजेट सुनिश्चित गर्दिनुपर्‍यो भनेर मन्त्रालयबाट म कहाँ फाइल आएको आइ छ’ उनले भने, ‘हामीले पहिलो दिनबाटै काम गर्नुपर्ने आवश्यकता छ । कामप्रति जुन उदासीनता छ, त्यो स्वीकार्य छैन । हामीले कार्यक्रम र परियोजना निर्धारण गरेर बजेट विनियोजन गरेका हुन्छौं, त्यहीअनुसार पहिलो दिनबाटै काम गर्न सुरु गर्नुपर्छ ।’

मन्त्री महतले बचत व्याज घटिसकेको र ऋणको ब्याज पनि चाँडै घट्ने बताए ।

२४ बैशाख २०८०, आईतवार १३:३१ मा प्रकाशित