वि.सं.२०८३ वैशाख ६ आइतवार

महाराष्ट्रमा फेरि एकैदिन थपिए ८ हजार बढी कोरोना संक्रमित

khanepani

एजेन्सी । छिमेकी मुलुक भारतको महाराष्ट्र राज्यमा कोरोनाभाइरसका संक्रमित ह्वात्तै बढेका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार महाराष्ट्रका विभिन्न जिल्लामा बुधबार ८ हजार ८ सय ७ जना नयाँ संक्रमित थपिएका हुन्। यो संख्या चार महिनामा सबैभन्दा धेरै हो।

पछिल्ला १० दिनयता महाराष्ट्रमा कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको छ। अहिले उक्त राज्यमा सक्रिय संक्रमितको संख्या ५९ हजार ३ सय ५८ पुगेको छ।

महाराष्ट्रमा कोरोनाका विभिन्न भेरियन्टका संक्रमित भेटिएका छन्।

संक्रमितको संख्या बढेसँगै विभिन्न स्थानहरूमा ‘मिनी लकडाउन’ गरिएको छ। कतिपय ठाउँमा होटल, क्याफे, स्वीमिङ पुल बन्द गरिएको छ।

पछिल्लो समय भारतका पञ्जाब, केरला र मध्यप्रदेशमा पनि संक्रमितको संख्या बढ्न थालेपछि भारतमा कोरोनाको दोस्रो लहर आउने हो कि भन्ने चिन्ता बढेको छ।

ठूलो संख्यामा कोरोनाभाइरसविरूद्धको खोप लगाइरहेको भए पनि भारतमा नयाँ भेरियन्टको कोरोनाभाइरस फैलिए अवस्था जटिल बन्ने विज्ञहरूले बताएका छन्।

भारतमा अहिलेसम्म १ करोड १० लाख मानिसलाई कोरोनाको संक्रमण भएको छ भने १ लाख ५६ हजार ७ सयले ज्यान गुमाएका छन्।

ranechhap