
रुपन्देही । भारतको उत्तरप्रदेश महाराजगञ्जमा बिहीबार मे ४ मा हुन गइरहेको चुनावलाई लक्षित गरी मंगलबारदेखि रुपन्देहीको बेलहियासहितका नेपाल-भारत सीमा बन्द हुने भएको छ ।
२१ वैशाख बिहानदेखि हुने नगर निकाय निर्वाचन (स्थानीय निर्वाचन) लाई मध्यनजर गर्दै मंगलबार साँझ ६ बजेबाट नाका बन्द गरिने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जानकारी दिएको छ । निर्वाचनको ४८ घण्टा अगाडिबाट नाका बन्द गर्न लागिएको हो ।
चुनावलाई लक्षित गरी मतदान समाप्त नभएसम्मका लागि (बिहीबार साँझ ६ बजेसम्म) सीमानाका बन्द गरिने सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए । दुवै देशका प्रशासनका अधिकारीहरूको बैठकले १९ गते देखि २१ गते साँझ ६ बजेसम्म पूर्णरूपमा नाका सिल गर्ने निर्णय भएको हो ।
सीमा बन्द भए पनि अतिआवश्यक कामका लागि आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ । पेट्रोलियम पदार्थ, एम्बुलेन्स, शववाहन, दूध, हरियो तरकारी, भारत हुँदै तेस्रो मुलुकबाट आउने पर्यटकबाहेक अन्यको हकमा आवतजावत बन्दसमेत रहने प्रशासनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।