04, Oct, 2023

धनुषामा टिपरको ठक्करबाट बालकको मृत्यु, अवस्था तनावग्रस्त

बागमती भ्वाइस न्युजडेस्क
१८ बैशाख २०८०, सोमबार १९:४३ | ५ महिना अगाडी

धनुषा । धनुषाको सबैला नगरपालिका- १२ रघुनाथ पुरमा टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ भने अर्का एक बालिका घाइते भएकी छिन्।

मृत्यु हुनेमा सबैला नगरपालिका- १२ सिर्खाटोलका ७ वर्षीय बालक रियान यादव रहेका छन्। सोही ठाउँकी बालिका राधी कुमारी घाइते भएकी हुन्। उनलाई उपचारका लागि जनकपुरतर्फ लगिएको धनुषा प्रहरीले जनाएको छ।

सोमबार विद्यालयबाट घर जाँदै गर्दा प्रदेश २–०३–००१ क १६२१ नम्बरको टिपरले ठक्कर दिँदा रियानको घटना स्थलमै मृत्यु भएको हो। दुर्घटनापछि टिपरका चालक फरार भएका छन्।

स्थानीयले प्रहरी प्रशासन र टिपर आतङ्क विरुद्ध प्रदर्शन गरिरहेका छन्। स्थानीयले ठक्कर दिने टिपरमा तोडफोड र आगजनी गर्न खोज्दा प्रहरीले हवाई फायर समेत गरेकाे छ।

हाल स्थानीयले टिपरमा लगाएको आगो प्रहरीले नियन्त्रणमा लिएको छ। स्थिति नियन्त्रणमा लिन ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

१८ बैशाख २०८०, सोमबार १९:४३ मा प्रकाशित