काठमाडौ । काठमाडौ पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दैछ ।
केन्द्रीय समितिको बैठक पार्टी कार्यालय बसुन्धरामा बिहान ११ बजेलाई तय गरिएको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
‘मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकारको समीक्षा आदि विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको हो, थप कार्यसूची भने तह हुन बाँकी छ,’उनले भने।
बैठकमा उपनिर्वाचनको समीक्षा, संगठन विस्तार र परिचालनलगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।
विशेषतः आजको बैठक सरकारमाथिको समर्थनमा केन्द्रित रहने केन्द्रीय सदस्यहरूको भनाइ छ।
वैशाख १० गतेको उपनिर्वाचनमा चितवन २ र तनहुँ १ मा शानदार मतसहित निर्वाचित भइसकेपछि सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टीभित्र दबाब बढेको उनीहरूले बताउँछन् ।
सरकार गठनको ४ महिना बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाएको र यसबीचमा सरकारले जनआकांक्षा सम्बोधन गर्नेगरी सरकार अघि नबढेकाले समर्थन कायम राखिरहनु औचित्यपूर्ण नहुने पदाधिकारीसहित केही सदस्यको मत छ।
केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता पनि गरेका छन्।
भेटमा प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए। जवाफमा सभापति लामिछानेले पुराना मन्त्रालयबारे सोधेको बताएका थिए।
‘हामीले सरकारमा जान चासो राखेका छैनौं। तपाईंले भनेपछि हामी छलफल गरौंला तर अलि समय हेर्छौं भनेर भनेको छु,’ भेटपछि लामिछानेले सेतोपाटीसँग भनेका थिए, ‘भर्खरै चुनावबाट आएका छौं, सरकारमा हाम्रो पोर्टफोलियो के हो त भनेर सोध्ने कुरा स्वभाविक भयो। हाम्रो पुरानो मन्त्रालय के हुन्छ? भनेर सोध्ने कुरा भइहाल्यो।’
संसदीय दलको बैठक आजै
यसैबीच पार्टी संसदीय दलको बैठक पनि आजै दिउँसो तीन बजेलाई बोलाइएको छ। घडीघर, बसुन्धरामै बस्ने बैठकले संसद्को हिउँदे अधिवेशनको समीक्षा गर्ने छ। त्यस्तै पार्टीका सांसदहरूले संसद्मा खेलेको भूमिको पनि छलफल गर्ने बताइएको छ।
बैठकले पार्टी सभापति लामिछानेलाई दलको नेता चुन्ने सम्भावना रहेको पनि सांसदहरूले बताएका छन्।
नागरिकतामा कैफियत देखाउँदै सर्वोच्च अदालतको आदेशबाट गत माघ १३ गते लामिछानेको सांसद पद गुमेको थियो। त्यसपछि दलको नेता पार्टीका उपसभापति डोलप्रसाद आचार्य बनाइएका थिए।
लामिछाने पुनः निर्वाचित भएर आएपछि आफू पदमा कायम रहनु उपयुक्त नहुने भन्दै शनिबार पदबाट राजीनामा दिएपछि पद रिक्त छ।









































