वि.सं.२०८३ असार १२ शुक्रवार

भारतले सम्मानसाथ बोलाए मात्रै प्रधानमन्त्री गरिमासाथ भ्रमणमा जानु राम्रो हुन्छ : पन्त

khanepani

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको मिति र एजेन्डाबारे एमाले सांसद रघुजी पन्तले प्रतिनिधिसभामा प्रश्न उठाएका छन् । प्रधानमन्त्री दाहालले भारत भ्रमण गर्नका लागि शपथ लिएदेखि नै चाहेको तर निश्चित भइनसकेको पन्तको भनाइ छ । भारत भ्रमणका एजेन्डा के हुने भन्नेबारे संसद्मा छलफल हुनुपर्ने पनि उनको भनाइ थियो ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद पन्तले भारतले सम्मानसाथ भ्रमणमा बोलाए एजेन्डाबारे छलफल गरी जानुपर्ने बताए ।

‘बोलाउनेले सम्मानसाथ बोलाए मात्रै प्रधानमन्त्रीले गरिमासाथ जानु राम्रो हुन्छ । प्रधानमन्त्रीको भारत भ्रमण फलदायी होस् । भारत भ्रमणका एजेन्डा के के हुन् भन्ने कुरा संसद् चलिरहेको बेला पनि अखबारमा पढ्नुपरेको छ । संसद्‍भित्र पटकपटक कुरा उठाउँदा पनि जवाफ आएको छैन,’ उनले भने ।

नेपालको भारतसँगको सम्बन्ध महत्वपूर्ण रहेको पन्तको भनाइ थियो । ‘प्रधानमन्त्रीको भारत भ्रमण हाम्रा लागि महत्वपूर्ण छ । प्रधानमन्त्रीको भारत भ्रमण राम्रो होस्, सफल होस् । र, त्यो मुलुकका लागि फलदायी होस् भन्ने शुभकामना पनि छ । तर सबभन्दा दु:खको कुरा के हो भने यो भारत भ्रमणको एजेण्डा के–के हुन ? भन्ने कुरा संसद् चलिरहेको यो बेला पनि हामीले अखबारहरुमा पढनु परेको छ । बाहिर माध्यामहरुमा सुन्नु परेको छ । संसदभित्र हामीले पटकपटक आग्रह गर्दा पनि प्रधानमन्त्रीले आएर आफ्नो भारत भ्रमणबारे एक शब्द भन्नु भएको छैन,’ उनले भने । प्रधानमन्त्रीको विदेश भ्रमणजस्तो महत्वपूर्ण विषयमा संसदभित्र छलफल हुनुपर्ने पन्तको धारणा थियो ।

प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा सार्क सम्मेलन गर्नेबारे, भारतले नेपाललाई हवाइ रुट दिन गरेको आनाकानीबारे, गोरखा भर्तीबारे, सन् १९५० को सन्धी संशोधनबारे, प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन दुवै देशले बुझ्नेबारे कुरा गर्नुपर्ने पन्तको भनाइ छ । प्रधानमन्त्रीले संसद्को सन्देश लिएर जानुपर्ने धारणा राखेका छन् । प्रमुख प्रतिपक्षको पनि वैदेशिक सम्बन्धका विषयमा सुझाव लिनुपर्ने पन्तले बताए ।

ranechhap