भक्तपुर । सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा दिँदै आएको भक्तपुरको राधेराधेस्थित यातायात व्यवस्था कार्यालयले बिहान ८ः३० बजे नै सेवा सुरु गरेको छ । सेवाग्राहीको सुविधाका लागि कार्यालय समयभन्दा अतिरिक्त डेढ घण्टा अघि नै कार्यालयले सेवा सुरु गरेको हो ।
बागमती प्रदेश सरकारका मुख्य सचिव मुकुन्दप्रसाद निरौलाले आइतबार बिहानी सेवाको उद्घाटन गरेका हुन् । सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा सेवा बिहान ७ बजेबाटै सञ्चालन गर्ने र अन्य पाँच प्रकारका सेवा बिहान ८ः३० बजे सुरु गर्ने गरी बिहानी सेवाको उद्घाटन गरिएको हो ।
मुख्य सचिव निरौला र कार्यालय प्रमुख शिवकुमार निरौलाले विभिन्न सेवा लिन आएका पहिलो सेवाग्राही क्रमशः रोनिका मास्के, सृष्टि श्रेष्ठ, अनिष श्रेष्ठ र सरिष्मा गुभांजुलाई कार्यालयमा माला र टीकाले स्वागत गर्दै बिहानी सेवा शुभारम्भ भएको घोषणा गरेका छन् ।
उक्त अवसरमा बागमतीका मुख्य सचिव निरौलाले अतिरिक्त तलब सुविधाविना नै बिहानी सेवा सुरु गरेकामा कार्यालय प्रमुख र कर्मचारीहरुको प्रशंसा गरे । आफूहरुको निर्देशनविना नै स्वःस्फूर्त रुपले कार्यालय समय बढाएकोमा बधाई दिँदै मुख्य सचिव निरौलाले यसको सिको अरु कार्यालयले पनि गर्ने विश्वास व्यक्त गरे ।
‘मातहतका कार्यालयले पनि मन्त्रालयलाई सिकाउन सक्ने कुरा सावित गरिदिनुभयो’, उनले भने ।
त्यस्तै कार्यालय प्रमुख निरौलाले यातायात कार्यालयप्रति सेवाग्राहीको सकारात्मक भावना नभएको र विनापैसा काम नहुने भ्रम कायम रहेकोप्रति दुःख व्यक्त गरे ।
बिहानी सेवाले कामको चापलाई घटाउने र घन्टौं लाइनमा बस्नुपर्ने बाध्यता हट्ने उनले विश्वास व्यक्त गरे । सेवाग्राहीलाई छिटोछरितो सेवा दिन तथा कार्यालय र राज्यप्रति सकारात्मक बनाउन आफूहरुले बिहानी सेवा शुरु गरेको प्रमुख निरौलाको भनाइ छ ।
कार्यालयमा बिचौलियालाई निषेध गरिएकोसमेत उनले जानकारी गराए ।
‘बिहानी सेवा सुरु गर्ने भक्तपुरको राधेराधेस्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र) बागमती प्रदेशमै पहिलो कार्यालय भएको छ । यसले आफूहरुलाई पनि सेवा समय बढाउन दबाब र प्रेरणा प्राप्त भएको छ’, कार्यक्रममा उपस्थित यातायात व्यवस्था कार्यालय चाबहिलका प्रमुख विष्णुप्रसाद भट्टराईले प्रतिक्रिया दिए ।
नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव सञ्जीप घिमिरे शुभचिन्तकले सेवाग्राहीको सुविधाका लागि आफ्नो असुविधाको पर्वाह नगरी बिहानैबाट कार्यालयमा आएर सेवा गर्ने प्रतिबद्धता प्रशंसनीय रहेको बताए ।
‘सरकारी काम कहिले जाला घाम’ भनेर काममा आलटाल गर्ने आरोप लागेको कर्मचारीतन्त्रको लागि यस्ताखाले सुरुवातले जनविश्वास जागृत हुने उनले बताए ।
बिहानी सेवाका लागि १७ जना कर्मचारी व्यवस्थापन गरिएको कार्यालयका सूचना अधिकारी गोविन्दराज सिवाकोटीले जानकारी दिए । करिब ४० जना कर्मचारी कार्यरत कार्यालयले नयाँ सवारी चालक अनुमतिपत्रका लागि मात्र दैनिक ७५० सहित अन्य सेवामा गरी दैनिक करिब ३ हजार सेवाग्राहीलाई सेवा दिँदै आएको सिवाकोटीले बताए ।
बिहानी सेवामा लिखित परीक्षा, नयन तथा वर्ग थप आवेदन, मेडिकल, राजस्व (नयाँ तथा वर्ग थप) त्यसैगरी राजस्व (पास तथा रिट्रायल) र लाइसेन्स वितरण सेवा समावेश गरिएको कार्यालयले जनाएको छ ।







































