वि.सं.२०८३ वैशाख १७ बिहीवार

‘म्युजिक अवार्ड’को नाममा हुन्छ, अनौठो खेतीपाती

khanepani

काठमाडौं । दिनमा कति गीत रेकर्ड हुन्छन् ? कति म्युजिक भिडियो बन्छन् ? यसको ठ्याक्कै लेखाजोखा छैन । तर, यिनै गीत-संगीतलाई टेको बनाएर ‘म्युजिक अवार्ड’ चाहिँ हप्तै जसो हुन थालेका छन् । ‘अवार्ड’को यो होडबाजीले संगीतवृत्तलाई यसरी गोलचक्करमा घुमाइरहेको छ, मानौं अवार्ड नथाप्ने गीतकार/गायक/संगीतकार तथा मोडल नै होइनन् ।

तात्तातो उदाहरण हो, नाट्येश्वर म्युुजिक अवार्ड, नेसनल ब्रान्ड म्युजिक अवार्ड । यी ‘अवार्ड’ समारोह करिब साता दिनको फरकमा वितरण गरिएको हो । त्यसअघि नेसनल क्यापिटल अवार्ड, स्पर्श म्युजिक भिडियो अवार्ड, नेसनल पावरन्युज म्युजिक अवार्ड, छायाँछवि तीज म्युजिक अवार्ड भए । तन्काउँदै जाने हो भने यो सूची अरू लामो बन्न सक्छ । किनभने, लकडाउनपछि मात्र अरू थुप्रै फिल्म अवार्ड भए, जसमा ‘संगीत विधा’ स्वतः समाहित हुने नै भयो ।

यो सिलसिला यत्तिमै टुङ्गिगएको छैन । अबका दिनहरूमा पनि एकपछि अर्को म्युजिक अवार्डको हानथाप हुँदैछ । आउँदो चैत्रमा मात्र तीनवटा ‘म्युजिक अवार्ड’को हुँदैछ । ‘विन्ध्यवासिनी म्युजिक अवार्ड २०७७’ चैतमा आयोजना हुने आयोजकले उद्घोष गरिसकेका छन् । विन्ध्यवासिनीको यो एघारौं संस्करण हो।

सोही महिना अर्को म्युजिक अवार्ड हुने जनाइएको छ । यसको शीर्षक जुराइएको छ, नेपाल बेस्ट म्युजिक अवार्ड । यो अवार्ड यसैपालिदेखि सुरु गर्न लागिएको आयोजकको भनाइ छ । यसका लागि आवेदन फर्म खुला गरिएको आयोजकले जनाएको छ । चैतमा नै ‘नेसनल पावर न्युज म्युजिक अवार्ड’को तेस्रो संस्करण गर्ने आयोजकको तयारी छ ।

दोस्रो संस्करणको ‘राष्ट्रिय साधना म्युजिक अवार्ड’को सर्वोत्कृष्ट ५ नोमिनेसन सार्वजनिक गरिएको छ । नोमिनेसनमा परेका कलाकारहरूले आफूलाई जिताउन फेसबुक वालमा भोट मागिरहेका देखिन्छन् । यो कार्यक्रम हुने मिति भने तोकिएको छैन ।

‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड’को पनि तयारी सुरु गरिएको छ । ‘म्युजिक खबर म्युजिक अवार्ड’ आगामी वैशाखमा आयोजना गर्नेका लागि आयोजकले तारतम्या मिलाइरहेका छन् । यो होडबाजीमा अरूले पनि हानथाप गरिरहेका छन् ।

ranechhap