कैलाली । सुदूरपश्चिम प्रदेशमा प्रत्येक वर्ष क्षयरोगबाट ज्यान गुमाउने बिरामीको संख्या बढ्दै गइरहेको छ। यस आर्थिक वर्षको फागुन महिनासम्ममा मात्रै यहाँ ६१ जना क्षयरोगीका बिरामीको ज्यान गइसकेको छ । ती मध्ये २३ जना कैलालीमा मात्रै छन् ।
अघिल्लो आर्थिक वर्षमा प्रदेशमा ११९ जना बिरामीले ज्यान गुमाएका थिए । ती मध्ये सबैभन्दा धेरै कैलालीमा ५६ जनाले ज्यान गुमाए । त्यस भन्दा अघिल्लो वर्ष प्रदेशमा १०४ जनाले ज्यान गुमाएका थिए । ती मध्ये कैलालीका ४५ जना छन् ।
देशभरमा क्षयरोगका कारण मृत्यु हुनेको दर दुई प्रतिशत रहेपनि सुदूरपश्चिम प्रदेशमा चार देखि पाँच प्रतिशत रहेको छ ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय, डोटीका क्षय तथा कुष्ठरोग अधिकृत मनोज ओझाका अनुसार आगामी असार मसान्त सम्म क्षयरोगबाट ज्यान गुमाउनेहरूको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।
जिल्ला स्वास्थ्य कार्यालय, कैलालीले विश्व क्षयरोगका अवसरमा धनगढीमा आयोजना गरेको कार्यक्रममा सुदूरपश्चिममा क्षयरोगका बिरामी अझै धेरै भएको बताइएको छ । अझै धेरै बिरामी सम्पर्कमा आउन नसकेको क्षय तथा कुष्ठरोग अधिकृत ओझाले बताए ।
उनका अनुसार सरकारको लक्ष्य भन्दा झन्डै आधा बिरामीको मात्रै अहिले उपचार भइरहेको छ ।
चालु आर्थिक वर्षमा प्रदेशमा ६ हजार ६ सय ६९ जनालाई नयाँ क्षयरोगीका बिरामी पहिचान गर्ने लक्ष्य रहेकोमा फागुनसम्म प्रदेश भरी एक हजार आठ सय ३४ जना मात्र पहिचान भएको निर्देशनालयले जनाएको छ ।
प्रदेशमा आर्थिक वर्ष २०७७/७८ मा दुई हजार आठ सय २६ र आर्थिक वर्ष २०७८/७९ मा तीन हजार चार सय २४ नयाँ क्षयरोगी बिरामी पहिचान भएका थिए ।
नौ वटा जिल्ला रहेको यस प्रदेशमा सबैभन्दा बढी नयाँ बिरामी पहिचान दर कैलालीमा रहेपनि अझै लक्ष्य अनुसार पहिचान हुन नसकेको उनले बताए ।
कैलालीमा चालु आर्थिक वर्षको फागुनसम्म सात सय ५२ नयाँ क्षयरोगी बिरामी पहिचान भएका थिए भने आर्थिक वर्ष २०७८/७९ मा एक हजार चार सय ३३ र आर्थिक वर्ष २०७७/७८ मा एक हजार ८४ नयाँ बिरामी पहिचान भएका थिए ।
‘कैलालीमा वार्षिक दुई हजार एक सय क्षयरोगीका नयाँ बिरामी पहिचान गर्नुपर्ने हुन्छ तर, हामीले एक हजार चार भन्दा बढी नयाँ बिरामी फेला पार्न सकेका छैनौँ ’स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले भने ।
भारतमा काम गर्न गएकाहरू चैते दसैँ मनाउन घर फर्किने गरेकोले चैतदेखि असारसम्म क्षयरोगीको सङ्ख्या बढ्ने धामीको भनाइ छ ।






































