कैलाली । बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । नेपाल-भारत सीमामा पर्ने भारतको दुधुवा नेशनल पार्कमा बाघको आक्रमणबाट कञ्चनपुर पुनर्वासकी ३२ वर्षीया कलसा सार्कीको मृत्यु भएको हो ।
शुक्रबार बिहान दुधुवा नेशनल पार्कमा घाँस काट्न गएकी सार्कीमाथि बाघले आक्रमण गरेको थियो ।
पुनर्वास नगरपालिका- १० मदनटोलकी महिला स्थानीयसँग घाँस काट्न नेशनल पार्क गएकी थिइन् । सोही बेला बाघले आक्रमण गरेर महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए ।
घटनास्थलमा भारतीय सुरक्षाकर्मीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, सबडिभिजन वन कार्यालय पचगडियाका प्रतिनिधि पुगेका छन् ।






































