04, May, 2024

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती को बागमती प्रदेश अध्यक्षमा श्रवण

Bagmati Voice
संवाददाता
८ चैत्र २०७९, बुधबार १३:३४ | १ साल अगाडी

काठमाडौं । नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को बागमती प्रदेश अध्यक्षमा श्रवण ढुंगाना निर्विरोध निर्वाचित भएका छन् । बागमती प्रदेश समितिको दोस्रो अधिवेशनले पूर्वाधार विकास कार्यालय काभ्रेका लेखा अधिकृत ढुंगानाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

कार्यसमितिका उपाध्यक्षहरुमा राजु अर्याल, कुण्डलविक्रम बुढाथोकी, जयराम कार्की र सुस्मिता सापकोटा रहेका छन् । सचिवमा सीताराम फुयाल, सहसचिवमा छितेन भोटे, कोषाध्यक्षमा सन्तोष ढकाल र सहकोषाध्यक्षमा सरिता ओली निर्वाचित भएका छन् ।

निर्वाचित कार्यसमिति २१ सदस्यीय रहेको नवनिर्वाचित कार्यसमिति सदस्य ईश्वर केसीले जानकारी दिए । उनका अनुसार बन्दसत्रमा बागमती प्रदेशका १३ जिल्लाबाट ६७ जना प्रतिनिधि सहभागी थिए ।

नवनिर्वाचित अध्यक्ष ढुंगानाले अधिवेशनको म्यान्डेटअनुसार पेशागत हकहित र ट्रेड युनियन अधिकारको पक्षमा लागिरहने प्रतिबद्धता व्यक्त गरे ।

अधिवेशन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा मन्त्री मोदीले ब्युरोक्रेसीमा रहेको वर्ग विभेद अन्त्य गरिने उद्घोष गरेका थिए । पियन र ड्राइभर जस्ता श्रेणीविहीन कर्मचारीहरुले दिनरात सेवा गरे पनि सही मूल्यांकन हुन नसकेको उनको भनाइ थियो ।

कर्मचारीतन्त्रमा केही सीमित कर्मचारीको हालीमुहाली रहेको औंल्याउँदै मन्त्री मोदीले ती नै कर्मचारीले बहुसंख्यक कर्मचारीमाथि अन्याय गरिरहेको बताए ।

आफ्नो कार्यकालमा सरुवा-बढुवाको वैज्ञानिक प्रणाली बनाइने र सबैमाथि न्याय गरिने उनको जिकिर छ ।

८ चैत्र २०७९, बुधबार १३:३४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading