वि.सं.२०८३ असार १७ बुधवार

आयल निगमकै ट्यांकर तस्करीमा, चालकसहित तीन पक्राउ

khanepani

काठमाडौं । डिजेल चोरेर भारत निकासी गर्ने नेपाल आयल निगमको तेल बोक्ने ट्यांकरका चालकसहित तीन जना पक्राउ परेका छन्।

प्रहरीले आइतबार राति ना७ख १५११ नम्बरको ट्यांकरका चालक मकवानपुर मनहरि गाउँपालिका-३ का रामकृष्ण उप्रेती, सहचालक सोही ठाउँका अशोक पाख्रिन र वीरगञ्ज २२ को श्वेता आयल ट्रेडर्सका कर्मचारी शम्भु महतोलाई पक्राउ गरेको हो।

आइतबार राति करिब ९ बजे ना७ख १५११ नम्बरको ट्याङ्कर च्याम्बरमा १ हजार लिटर र ट्याङ्करको फ्युल ट्याङकमा ३ सय ६० लिटर गरी १३६० लिटर डिजेल बोकेर भारत हिँडेको थियो।

त्यो ट्यांकरमा श्वेता आयल ट्रेडर्सबाट डिजेल भरेर भारत लगिँदैथियो।

पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुँवरका अनुसार सो ट्यांकर डिजेल भरेर सिमावर्ती क्षेत्रको एकीकृत जाँच चौकी (आइसिपी)को मुलबाटो हुँदै भारत जाँदै थियो।

आइसिपीमा रोकेर चेकजाँच गर्दा चालक, सहचालक र श्वेता आयल ट्रेडर्सका कर्मचारी पक्राउ परेको कुँवरले बताए।

नेपालमा डिजेल केही सस्तो मूल्यमा पाइने र भारत लग्दा महंगोमा बिक्री हुने भएकाले डिजेल चोरी तस्करी गरी लगिएको बुझिएको छ।

पक्राउ परेको ट्यांकर पर्सा प्रहरीमा राखिएको छ। पक्राउ व्यक्तिहरूलाई पर्सा प्रहरीले हिरासतमा लिएर कारबाही थालेको छ।

ranechhap