रुपन्देही । भूमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन बुटवलका तत्कालीन डिभिजन प्रमुख इच्छाकुमार श्रेष्ठसहित ५ जनाले भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप पत्र दायर भएको छ । श्रेष्ठलाई चार लाख रुपैयाँभन्दा बढी रकम भ्रष्टाचार गरेको आरोप लागेको हो।
नवलपरासी जिल्लास्थित पेटवनिया सिँचाइ योजनाका लागि आर्थिक वर्ष २०७४/७५ मा डिप ट्युबवेलको कार्यका लागि बजेट निकासा भएकोमा आरोपितमाथि सो को गलत प्रतिवेदन बनाएको आरोप लागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले मङ्गलवार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रमुख श्रेष्ठसहित इन्जिनियर विज्ञप्तिमा सन्तोषकुमार दासले फिल्ड कार्यको यकिन गरी वास्तविक नापजाँच गर्नुपर्नेमा सो नगरिएको आयोगको जनाइएको छ।
यसैगरी, ठेक्का निर्माण सम्पन्न गर्ने जिम्मेवारी पाएको थापा कन्स्ट्रक्सनका प्रोप्राइटर अर्जुनकुमार क्षेत्रीसहित तीन जना आरोपितमाथि एक लाख २० हजार रुपैयाँ भ्रष्टाचार आरोप लागेको छ।
यसैगरी, आयोगको अर्को विज्ञप्तिमा पनि नवलपरासीको सरावल गाउँपालिकास्थित भूमिगत जलश्रोत तथा सिँचाई विकास डिभिजन, बुटवल पेटवनिया सिँचाई योजनाका लागि आर्थिक वर्ष २०७४/७५ मा पुरा नभएको डिट्युव्लको ठेक्काको कामको भुक्तानी भएको भनी ढाकछोप गरेको आरोप श्रेष्ठमाथि लागेको छ।
अनुसन्धानका क्रममा श्रेष्ठ र सोही इन्जिनियर दासले निर्माण नै नभएका आउटलेट संरचनाको मूल्याङ्कन गरेर तीन लाख पाँच हजार ८१० रुपैयाँ निर्माण व्यवसायीलाई बढी भुक्तानी गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ।
आरोपितमाथि मङ्गलवार विशेष अदालत, काठमाडौंमा कैद सजाय गरी निजबाट ऐन बमोजिम जफत हुन समेत माग दाबी लिएर आरोप पत्र दायर भएको आयोगले जनाएको छ।
यस प्रकरणमा साबिक महेश निर्माण सेवा बर्दघाट–४ नवलपरासीका प्रोप्राइटर तथा हाल महेश इन्जिनियरिङ एण्ड बिल्डर्स प्रालिका सञ्चालक ध्रुवप्रसाद उपाध्याय, महेश इन्जिनियरिङ एण्ड बिल्डर्स प्रालिका प्रबन्ध निर्देशक मनोजकुमार खनाल, महेश निर्माण सेवाका आधिकारिक प्रतिनिधि प्रकाश भट्टराईले संरचना नै नभएको झुटा नापी किताब, विल भरपाई र कार्य सम्पन्न प्रतिवेदन बनाएर गैरकानूनी लाभ लिएको आरोप लागेको छ।








































