काठमाडौं । नेपाली कांग्रेसका भ्रातृसंस्थाका कार्यसमितिको विधानतः म्याद सकिएपछि पार्टीले अध्यक्ष त मनोनित गरेको छ तर तदर्थ समितिले पूर्णता पाउन सकेका छैनन् ।
पार्टी सभापति शेरबहादुर देउवाले १५ माघका लागि बोलाइएको केन्द्रीय कार्यसमिति अघि भ्रातृ संस्थालाई पूर्णता दिने प्रतिबद्धता जनाएका थिए । केन्द्रीय कर्यसमितिलाई अनौपचारिक रूपमा सारिएको छ । तदर्थ समितिको संयोजक तोकिएका भ्रातृ संस्थाको कार्यसमितिलाई पूर्णता दिन सकिएको छैन ।
कांग्रेस केन्द्रीय समितिले नेपाल विद्यार्थी संघमा दुजाङ शेर्पा, तरुण दलमा विद्वान गुरुङ, महिला संघमा उशा राउत, नेपाल मगर संघमा ओम थापा मगरलाई संयोजक बनाएका छन् । उनीहरू अहिले एक्लैमात्रै छन् । समिति विस्तार भएको छैन ।
अब समिति विस्तारको बेला अहिले विधानमा थोरै संख्या भएको भन्दै संख्या बढाउन सभापति देउवालाईं दबाब बढेको छ । देउवालाई आफ्नै समूह र अर्को समूहले दबाब बढाएका हुन् ।
नेता शेखर कोइराला समूहबाट बुधबार बिहान देउवा निवास धुम्बाराही पुगेर नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष रञ्जित कर्ण, पूर्वमहामन्त्री मनोजमणि आचार्य तथा तरुण नेता सुवास पोखरेलले अहिले विधानमा भएको कार्यसमितिको संख्या थोरै रहेकाले बढाउन आग्रह गरेका हुन् । आफूहरू नेता शेखर कोइरालाले पठाएर संख्या बढाउन आग्रह गर्न सभापति देउवा निवास धुम्बाराहीमा पुगेको नेता कर्णले बताए ।
आफूहरूसँग देउवाले भ्रातृसंस्थामा केन्द्रीय समितिमा रहेको संख्या बढाउने बचन दिएको पनि कर्णले जानकारी दिए ।
त्यस्तै उनीहरूले भ्रातृ संस्थाका केन्द्रीय समिति मात्रै होइन, प्रदेश समिति पनि ल्याउन देउवालाई सुझाएका छन् । देउवा प्रदेश समिति ल्याउन पनि सकारात्मक रहेको कर्णले बताए ।
अहिले विधानत नेविसंघको केन्द्रीय समिति १०१ जना, तरुण दलको ९५, महिला संघको ८९ र किसान संघको ६९ सदस्यीय हुने व्यवस्था छ । त्यसलाई बढाउनु पर्ने अन्यथा राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतमा नेता कार्यकर्ता जान सक्नेबारे पनि नेताहरूले सभापतिलाई अवगत गराएका थिए ।
facebook sharing button







































