काठमाडौं । सेयर लगानीसम्बन्धी विवादमा धनुषामा आफ्नै सालोले भिनाजुको हत्या गरेको खुलेको छ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ७ स्थित क्षिरेश्वर डिष्टिलरीका सञ्चालक ५४ वर्षीय प्रमोद रेग्मीको गत माघ १३ गते हत्या भएको थियो।
रेग्मी उदयपुर जिल्ला त्रियुगा नगरपालिका वडा नं. ७ का हुन्।
रेग्मीको हत्या भएपछि क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ७ दुर्गा टोल बस्ने ३५ वर्षीय निरज खातीलाई त्यतिबेलै प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो।
अनुसन्धान गर्दै जाँदा उनै खातीले भिनाजुलाई कटबाँसको आग्लोले टाउकोमा प्रहार गरेर हत्या गरेको खुलेको धनुषा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए।
उनका अनुसार उक्त डिष्टिलरीका सञ्चालक रेग्मीसहित चार जना हुन्। त्यसमध्ये खातीकी आमा पनि एक थिइन्।
करिब दस वर्षदेखि सञ्चालन भइरहेको उक्त उद्योगमा ४० प्रतिशत सेयर खातीकी आमाको थियो। तर, रेग्मीले सेयर आम्दानी बाँडफाँट गर्दा ३० प्रतिशत मात्र दिने गरेको खातीले थाहा पाएपछि विवाद बढेको थियो।
घटना हुनुभन्दा पन्ध्र दिनअघिको यो कुरा थियो। कम्पनीको आम्दानी बाँडफाँट भयो। खातीले यतिबेला तीस प्रतिशत मात्र आम्दानी पाउने गरेको थाहा पाए।
यसरी वर्षौंदेखि सेयरमा १० प्रतिशत ठगिरहेको थाहा पाएपछि उनले भिनाजु रेग्मीसँग वादविवाद गरिरहेका थिए, किन ठगेको भनिरहेका थिए।
‘त्यस दिन पनि वादविवाद भएर सँगै मदिरा सेवन गरेपछि भिनाजुलाई पुर्याउन खाती डिष्टिलरीमा आए, त्यहाँ पुनः वादविवाद हुँदा आग्लोले टाउकोमा प्रहार गरे,’ मिश्रले भने।
हत्यापछि २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाले संयुयक्त अनुसन्धान थालेका थिए।
यही ‘इबी’का कारण खातीले भिनाजुलाई अत्यधिक मादक पदार्थ सेवन गराएर हिर्काएको मिश्रले बताए।









































