वि.सं.२०८३ असार १६ मंगलवार

राष्ट्रपति चुनावदेखि प्रदेश मन्त्रिमण्डल विस्तारसम्ममा छलफल

khanepani

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बीचमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री र सत्ता गठबन्धनका मुख्य घटक दल नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको हो ।

मंगलबार बिहान भएको वार्तामा राष्ट्रपतिको आसन्न निर्वाचन देखि प्रदेशका मन्त्रीपरिषद् विस्तारसम्मका एजेण्डामा केन्द्रीत रहेर छलफल भएको छ । नेपाली कांग्रेसले सरकारले राष्ट्रपतिको चुनाव सार्ने बाहाना खोजिरहेको र समयमै राष्ट्रपति चुनाव गराउनु पर्ने माग गरिरहेको बेला प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीका बीचमा भेटवार्ता भएको हो ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनअनुसार राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि निर्वाचन गर्नुपर्ने हुन्छ तर सरकारले संविधानको धारा ६३ को प्रावधानमा टेकेर निर्वाचन धकेल्न सक्ने आशंका कांग्रेसले गरिरहेको छ ।

कांग्रेसको सोमबार बसेको पदाधिकारी बैठकले संविधान र ऐनका प्रावधान बाझिएको बहानामा सरकारले राष्ट्रपति निर्वाचन टार्न खोजेको ठहर गरेको थियो । संविधानको धारा ६३ को उपधारा १ मा राष्ट्रपतिको पदावधि निर्वाचन भएको मितिले पाँच वर्ष हुने व्यवस्था छ । उपधारा २ मा ५ वर्षको पदावधि सकिएपछि पनि अर्को निर्वाचित राष्ट्रपतिले पदभार नसम्हालेसम्म पुरानै राष्ट्रपतिले कार्यसम्पादन गर्ने व्यवस्था छ । यही ब्यवस्थामा टेकेर सरकारले राष्ट्रपति निर्वाचन धकेल्न खोजेको आशंका कांग्रेसले गरिरहेको छ ।

राष्ट्रपति निर्वाच्न कहिले गर्ने र उक्त निर्वाचनमा निर्णायक शक्तिका रुपमा रहेको माओवादी केन्द्रले एमालेको प्रस्तावित उम्मेदवारलाई सघाउने या कांग्रेसको प्रस्तावित उम्मेदलवारलाई भन्ने बहस पनि चलिरहेका बेला ओली प्रधानमन्त्री भेटन बालुवाटार पुगेका हुन् । माओवादीले कांग्रेसले समेत प्रधानमन्त्रीलाई विश्वासको मत दिएका कारण सकभर राष्ट्रिय सहमति भए राम्रो हुने बताईरहेको छ ।

त्यस्तै प्रदेशमा सत्ता गठबन्धन दलकै सरकार निर्माण भएपनि प्रदेश सरकारले अझै पूर्णता पाउन सकेका छैनन । सुदूरपश्चिम प्रदेश सरकारले अझै विश्वासको मत पनि लिएको छैन । मन्त्रालय घटाउन प्रधानमन्त्रीले प्रदेश सरकारलाई गरेको निर्देशनका आधारमा प्रदेश सरकारमा मन्त्रालयको संख्या घटेपनि पूर्णतामा सकस परिरहेको छ । यो विषयमा पनि प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीका बीचमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

ranechhap