29, Apr, 2024

सुनकोशी गाउँपालिकामा रहेको सियाले खोलामा झोलुङ्गे पुल निर्माण हुने

Bagmati Voice
संवाददाता
१० माघ २०७९, मंगलवार ०८:०५ | १ साल अगाडी

सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिका वडा नम्बर ३ र ४ मा रहेको सियाले खोलामा झोलुङ्गे पुल निर्माण हुने भएको छ । पुल नहुँदा वर्षामा दुवै वडाका स्थानीयलाई आवतजावत र खेतीपाती गर्न जान समस्या हुँदै आएको थियो ।

सुनकोशी गाउँपालिका र स्थानीय झोलुङ्गे पुल कार्यक्रम मार्फत उक्त खोला माथि ‘स्टील बिज्र’ निर्माण हुने भएपछि दुवै वडाका स्थानीय खुसी भएका छन् ।

चालु आर्थिक वर्ष भित्रै निर्माण सम्पन्न हुने झोलुङ्गे पुलको सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले शिलान्यास गरेका छन् । सुनकोशी ३ को पुरानागाउँ र ४ को भिरकुले बस्ती जोड्ने पुल जम्मा ९६ मिटर लामो हुने सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए ।

५६ लाख ७८ हजार १३७ रुपियाँको लागतमा निर्माण हुने झोलुङ्गे पुलका लागि आवश्यक पर्ने स्टील पार्टसको १५ लाख ४७ हजार ४८५ रुपियाँमा ठेक्का सम्झौता भएको छ । अन्य निर्माण कार्य भने उपभोक्ता समिति मार्फत हुने गाउँपालिकाका इन्जिनियर बद्री भुजेलले जानकारी दिए ।

पुल शिलान्यास कार्यक्रममा गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले निर्धारित समय भित्रै पुल निर्माण सकेर स्थानीयलाई सहज रूपमा आवतजावत गर्ने व्यवस्था मिलाउनका लागि आग्रह गरेका थिए ।

गाउँपालिकाको प्राविधिक लगायत अन्य सहयोग जतिबेला पनि गर्न आफूहरू तयार रहेको बताउँदै निर्धारित मिति भन्दा अगाडि पुल निर्माण सम्पन्न गराउन उपभोक्ता समिति र अन्य सरोकारवाल सबै एक हुनु पर्नेमा अध्यक्ष तिमिल्सिनाले जोड दिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले पुल निर्माणका लागि गाउँपलिकाबाट सबै सहयोग उपलब्ध हुने बताए ।

सुनकोशी गाउँपालिकाले चालु आर्थिक वर्ष भित्र कम्तीमा तीन वटा झोलुङ्गे पुल निर्माण सम्पन्न गर्ने गरी डिपीआर सकाएको छ । आगामी आर्थिक वर्ष भित्र पनि गाउँपालिकाको विभिन्न वडामा झोलुङ्गे पुल निर्माणका लागि गाउँपालिकाले डिपीआरको लागि तयारी गरेको छ ।

१० माघ २०७९, मंगलवार ०८:०५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading