वि.सं.२०८३ असार १७ बुधवार

शेखर समूहको भेलामा नेताहरूको प्रश्न : निर्वाचन अघिको गठबन्धनले किन पाएन निरन्तरता ?

khanepani

काठमाडौँ । नेपाली कांग्रेसको नेता शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा प्रदेश सभा निर्वाचन अघिको गठबन्धनलाई निरन्तरता दिन नसकेकोबारे जवाफ माग्नु पर्ने बताएको छ ।

समूहको आइतबार बिहान काठमाडौँको अनुपम फुडल्याण्डमा भएको बैठकमा समूहका नेताहरूले गठबन्धनसहित निर्वाचनमा गएकाले जनतासँग गठबन्धनकै रूपमा निर्वाचनमा प्रतिवद्धता गरिएको भन्दै अब कसरी पूरा गर्ने भनेर प्रश्न गर्नु पर्ने बताएका छन् ।

बैठक पनि समूहका नेता चन्द्र भण्डारीले निर्वाचनपछि गठबन्धन किन टुट्यो भनेर केन्द्रीय समिति बैठकमा समीक्षा गर्नुपर्ने विषय बैठकमा उठेको बताए । ‘चार पार्टी मिलेर स्थानीय र प्रदेश तथा प्रतिनिधि सभा चुनावमा गइएको हो । तर चुनावपछि गठबन्धन भत्कियो,’ नेता भण्डारीले भने, ‘चुनावका बेला त्यसबेलाको गठबन्धनले जनतासँग विकास निर्माणलगायत प्रतिबद्धता गरेका थिए तर चुनावपछि गठबन्धन किन टुट्यो ? अब जितेर आएका जनप्रतिनिधिले यी प्रतिबद्धता कसरी पूरा गर्ने ? यो विषयमा समीक्षा हुनुपर्छ ।’

कांग्रेसले प्रतिनिधि सभा/प्रदेश सभा निर्वाचनको समीक्षा गर्न १५ माघमा केन्द्रीय समिति बैठक बोलाएको छ ।

समूहको बैठकमा सभापति शेरबहादुर देउवाले चुनावअघिको गठबन्धनलाई चुनावपछि निरन्तरता दिन नसक्नुको कारणबारे केन्द्रीय समितिमा जवाफ माग्नु पर्ने बताएका छन् ।

भेलामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई गत पुस २६ गते किन कांग्रेसका सांसदले विश्वासको मत दिए भन्ने विषय पनि उठेको थियो । भेलामा बोल्ने अधिकांश नेताहरूले यसबारे असन्तुष्टि जनाएपछि नेता कोइरालाले यसबारे प्रष्टीकरण नै दिनुपरेको थियो ।

प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिन नहुने पक्षमा कांग्रेस महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यद्वय अर्जुननरसिंह केसी र प्रदीप पौडेल उभिएका थिए । देउवाले ह्वीप लगाएर उनीहरुलाई समेत विश्वासको मत दिन बाध्य बनाएका थिए ।

कांग्रेसको अवको नीति के हो भन्ने पनि स्पष्ट नभएकोबारे समेत भेलामा कुरा उठेको छ । ‘कांग्रेस स्पष्ट दृष्टिकोणका साथ कांग्रेस हिँडिरहेको छैन, सानका साथ प्रमुख प्रतिपक्षमै बस्नुपथ्र्यो र जनताका कुरा सदनमा उठान गर्नुपथ्र्यो,’ भेलामा नेताहरूको भनाइ उध्रित गर्दै नेता भण्डारीले भने ।

पार्टी संसदीय दलको नेताको निर्वाचनमा समूहका उम्मेदवार महामन्त्री गगन गापाले आफूहरूसँग रहेको मत पनि पाउन नसकेकोबारे नेताहरूले कुरा उठाएका थिए । दल नेतामा सभापति देउवासँग महामन्त्री थापाले प्रतिस्पर्धा गर्दा कोइराला पक्षमै भएका सांसदहरूको मत किन आएन भन्ने प्रश्न पनि नेताहरूले उठाएका थिए । नेताको निर्वाचनमा देउवाको ६४ मत आउँदा गगनको २५ मत आएको थियो ।

१४ औं महाधिवेशनका बेला शेखरसँग उभिएका ३२ जना सांसद भए पनि महामन्त्री थापालाई दल नेतामा २५ मत मात्रै किन आयो भन्ने प्रश्न उठेको थियो । जबकी महाधिवेशनका बेला संस्थापनमा रहेका अर्का महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल पनि थापाको पक्षमा देखिएका थिए ।

त्यस्तै भेलामा ‘टिम लिडर शेखर हो कि गगन हो’ प्रष्ट पारेर जानुपर्ने आवाज पनि नेताहरूले उठाएका थिए ।

भेलामा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय ब्रदी पाण्डे र जीवन परियार नेताहरू बलबहादुर केसी, अर्जुननरसिंह केसी, सरिता पर्साई, किरण यादव, उर्मिला थपलिया, दीपक गिरी, संजय गौतम। तेजुलाल चौधरी, मधु आचार्यलगायतको सहभागिता थियो ।

भेला भोली पनि जारी रहने र केन्द्रीय समिति बैठकमा समूहका तर्फबाट के के एजेण्डा लैजाने भन्ने विषय टुंग्याएर टुंगिने भण्डारीले बताए ।

ranechhap