रामेछाप । रामेछाप नगरपालिकाका वाड नंबर ३ का वडाध्यक्ष भूपाल श्रेष्ठले डोरबहादर तामाङमाथि हातपात गरेका छन् । विज्ञ शिक्षक छनोटमा घुस खाएको प्रमाण फेला पारेपछि अध्यक्षले तामाङलाई हातपात गरेको खुलेको छ ।
वडाध्यक्ष भुपालराज श्रेष्ठले नगर शिक्षा शाखा प्रमुख डोर बहादुर तामाङको छातिमा समाएर घिसार्दै सडकमा ल्याउन खाजेका हुन् । यसरी तमाङलाई छातिमा समाएर घिसार्न थालेपछि नगरपालिकाका कर्मचारी र नगरप्रहरीले उनलाई रोकेको छन् ।
वडा नम्बर ३ साँघुटारको बाकिमेरीमा रहेको कालिका ईश्वरी आधारभूत विद्यालयमा शिक्षक छनौट गर्ने क्रममा तामाङले घुसपैठ गरेको रङ्गेहात भेटेपछि आफूले सडकमा ल्याएर कालोमोसो दलेर बजार घुमाउने उद्देश्यले घिसारेको श्रेष्ठले बताए ।
तर, आफूलाई नगरपालिकाको कर्मचारी र नगर प्रहरीले रोकेको वडाध्यक्ष श्रेष्ठले बताए । आफूले रङ्गेहात फेला पारेपछि तामाङमाथि हात उठाउन बाध्य भएको उनले बताए ।
रामेछाप नगरपालिकामा भएको हरेक शिक्षक नियुक्तिमा तामाङले घुसपैठ गर्दै आएका छन् । उनले कांग्रेस निकट शिक्षकहरुलाई विद्यालयमा नियुक्ति गर्नको लागी सबै विद्यालयमा शिक्षक छनौट गर्दा विशेषज्ञको रुपमा नीम बहादुर श्रेष्ठको नाम पर्ने गरी गोलाप्रथा बनाउने गर्दै आएका छन् ।
विशेषज्ञको रुपमा रहेका श्रेष्ठ प्राथमिक तहको शिक्षक हुन् । उनी नगर शिक्षा समिति सदस्यसमेत हुन् । नगरभित्रको हरेक विद्यालयमा शिक्षक छनौटमा तामाङले यसरी नै घुसपैठ गर्दै आएका छन् । तामाङलाई वडा अध्यक्ष श्रेष्ठले एक तलामाथिबाट छातिमा समाएर तल्लो तलासम्म ल्याएको नगरपालिकोका एक कर्मचारीले बताए ।
विद्यालयमा शिक्षक नियुक्ति गर्न विषय शिक्षक छान्दा ६ जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ । ६ जनाको नाममध्ये गोलाप्रथा गर्दा जसको नाम आउँछ, उसलाई शिक्षक छनौटमा राख्ने व्यवस्था गरिएको शिक्षा समितिको सदस्य रोशन पाख्रिनले बताए ।
तामाङले छ जनाको नाम लेखेर गोलाप्रथा बनाए । उनले त्यो नाम टेबलमा राख्नुपर्ने तर आफ्नो पाइन्टको देब्रे गोजीमा हाले र आफ्नो कार्यकक्ष भित्र पसे । उनको क्रियाकला अध्यक्ष श्रेष्ठलाई शंका लागेपछि तामाङलाई पछ्याएका थिए । उनी भित्रबाट बाहिर आए । र, कार्यालय सहयोगीलाई जग मागेर दाइने गोजीबाट गोलाप्रथा गरेको कागजको डल्लो जगमा राखेर हल्लाए र टेबलमा राखे ।
त्यसपछि, विद्यालयको प्रधानाध्यपकलाई टिप्न लगाए । टिप्दा तामाङले सेटिङ गरेको शिक्षक नीम बहादुर श्रेष्ठको नाम आयो । अन्य ५ वटा गोलाप्रथा हेर्दा पनि सबैमा नीम बहादुर श्रेष्ठको नाम भेटियो ।
छ वटै गोलाप्रथामा नीम बहादुर श्रेष्ठको नाम लेखेर तामाङ र नगर प्रमुख र उपप्रमुखले आफ्नो मान्छेलाई सेटिङमा शिक्षक नियुक्त गर्न खोजेका थिए । उनीहरुले अन्य विद्यालयमा शिक्षक नियुक्ति गर्दा यसरी नै गर्दै आएका थिए ।
शिक्षक नीम बहादुर श्रेष्ठ नगर शिक्षा समिति सदस्य र नगरको शिक्षा विशेषज्ञसहित दोहोरो भूमिकामा रहेका छन् । शिक्षा समितिको नियमअनुसार एक व्यक्ति दोहोरो भूमिकामा रहन नमिल्ने व्यवस्था रहेको छ ।
तर, नगरपालिका प्रमुख, उपप्रमुख र शिक्षा शाखा प्रमुख सबै कांग्रेसमा आस्था राख्ने भएकाले उनलाई नियमविपरीत दोहोरो भूमिकामा राखिएको छ । दोहोरो भूमिकामा रहेका शिक्षक श्रेष्ठले आफ्नो मान्छे नियुक्त गर्नको लागि यो सेटिङ गरेको रेणुकादेवी माविका अध्यक्ष मेखराज श्रेष्ठले बताए ।
शिक्षक श्रेष्ठ पहिले रेणुकादेवीमा शिक्षक हुँदा पनि विभिन्न हर्कत गरेका व्यक्ति भएकाले उनीसहित सेटिङमा संलग्न सबै जनालाई कारबाही गर्न विद्यालयका अध्यक्ष श्रेष्ठले शिक्षा समितिलाई आग्रह गरेका छन् ।
त्यसपछि तत्काल वडाध्यक्ष श्रेष्ठले तामाङको छातिमा समाएर घिसारेर बाहिर ल्याउन खोज्दा आफूलार्ई अरुले रोकेको अध्यक्ष श्रेष्ठले बताए । तामाङ पहिलेदेखि नै शंकास्पद गतिविधि गर्ने समिति सदस्य पाख्रिनले बताए ।
तामाङले पहिले नै बनाएको गोला यो पटकपनि प्रयोग गर्न खोज्दा समस्या आएको बताए । योभन्दा अगाडिको शिक्षक छनौट पनि यसरी नै गरिएको उनले बताए । आफूले यसलाई सामान्य प्राविधिक समस्याको रुपमा मात्र लिएको तामाङले बताए । आफूले स्पष्टिकरणमा पनि यही कुरा भन्ने बताए ।
रामेछाप नगरपालिकामा कर्मचारी नियुक्ति गर्दापनि नगर प्रमुखले नियमविपरीत कर्मचारी भर्ना विवाद आएको थियो । नगरपालिकामा कर्मचारी नियुक्त मात्र नभएर हरेक विषय विवादित हुने गर्दछ । नगरप्रमुख, उपप्रमुख र कर्मचारीहरुले मनोमानी गर्दा नगरको हरेक काम विवादित हुँदै आएको छ ।
उक्त घटनापछि शिक्षा शाखा प्रमुख तामाङ कार्यालय नआएको नगरपालिकाको सूचना अधिकारी होम बहादुर थापाले जानकारी दिए । जनप्रतिनिधिहरुको कालोमोसो लगाएर बजार घुमाउने तयारी थाहा पाएपछि उनी बिहानैदेखि सम्पर्क बाहिर रहेको थापाले बताए ।
कार्यकारी प्रमुख अहिले जिल्ला बाहिर रहेको अवस्थामा उनी आइसकेपछि नगरप्रमुख र कार्यकारी प्रमुखले यो विषयमा छलफल गरेर उचित निर्णय दिने उनले बताए ।
नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतले तामाङसँग स्पष्टिकरण मागिसकेको बताए । तामाङले दिने स्पष्टिकरणको आधारमा उनलाई निजामति ऐनअनुसार कारबाही गर्ने लामगादेले बताए । तर, तामाङले आफूले गल्ती गरेको भन्दै अध्यक्ष श्रेष्ठसँग माफी मागिसकेका छन् ।
यसआगडि, शिक्षक नियुक्त गरेको वडा नम्बर २ देउरालीको शितलादेवी माविमा समेत अध्यक्षलाई गोलाप्रथा गर्ने बेलामा सहभागिता नगराएको वडाध्यक्ष नीर बहादुर श्रेष्ठले बताए ।
अध्यक्ष श्रेष्ठले आफूलाई सहभागी नगराइ ५ मिनेट भित्रमा गोलाप्रथाबाट विशेषज्ञ छानेर प्रश्नपत्रसमेत तयारी सकाएर परीक्षामा मात्र आफूलाई सहभागी गराएको बताए ।









































