काठमाडौँ । अध्यागमन विभागले खाडी र अफ्रिकी मुलुकजस्ता जोखिम संभाव्य मुलुकमा पहिलोपटक एक्लै यात्रा गर्ने र आफ्नो यात्राका बारे सामान्य जानकारीसमेत नभएका महिलाहरूका लागि आवश्यक पर्न सक्ने गरी परिवार तथा वडाको स्वीकृति लिनुपर्ने सुझाव आएको र यसबारे कुनै पनि निर्णय नभएको बताएको छ ।
४० वर्ष उमेर तलका महिला विदेश जाँदा परिवार र स्थानीय तहको स्वीकृति चाहिने गरी विभागले कार्यविधि ल्याउन लागेको भन्दै चौतर्फी विरोध भइरहेको छ।
विभागको आन्तरिक कार्यविधि संशोधन गरी पहिलोपटक जोखिम संभाव्य मुलुकमा नेपाली महिला भिजिट भिषामा जाँदा परिवारका सदस्य वा स्थानीय तहको सिफारिस आवश्यक पर्ने गरी निर्णय हुन लागेको भन्ने सञ्चार माध्यमहरूमा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण रहेको भन्दै विभागले त्यस्तो कुनै निर्णय नभएको बताएको छ।
आन्तरिक छानविन कार्यदलका सुझावहरूका रूपमा आएको विषय र त्यसबारे कुनै पनि निर्णय नभएको विभागको भनाइ छ। यस्तै यस विषयमा हालसम्म कुनै पनि निर्णय नभएको र निर्णय गर्दा संविधान प्रदत्त अधिकारसमेतलाई हेरी नागरिकका मौलिक अधिकार कुण्ठित नहुने गरी निर्णय हुने व्यवहोरा उल्लेख गर्दै विभागले बताएको छ ।








































