वि.सं.२०८३ असार २० शनिवार

नुवाकोट र दाङमा एमसिसी परियोजनामा भएका घटनाबारे बुझिरहेका छौं: अमेरिकी राजदूत थम्प्सन

khanepani

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले अमेरिकी सहयोग परियोजना (एमसिसी) अन्तर्गत नुवाकोट र दाङमा निर्माणाधीन सबस्टेशन र सडक विस्तारमा हालै भएका घटनाबारे बुझिरहेको बताएका छन्।

बुधबार संवाददाताहरूसँग कुरा गर्दै राजदूत थम्प्सनले एमसिसी परियोजनाहरू सम्झौताअनुसार अघि बढिरहेको भए पनि अनावश्यक हल्ला र चर्चा भएको बताए।

‘हालै नुवाकोटको रातमाटेमा निर्माण गर्न लागिएको सबस्टेशनबारे स्थानीयले विरोध गरेको र दाङमा एमसिसीअन्तर्गत बन्न लागेको सडकमा स्थानीय प्रशासनको जानकारीबिनै सयौं रूख काटिएको भन्ने खबरहरू आएका छन्। ती घटनाबारे बुझ्न तत्कालै सम्बन्धित ठाउँमा एमसिए नेपालका अधिकारीहरू पुगेर सत्यतथ्य बुझिरहनु भएको छ।’

केही दिनअघि पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको देउखुरी क्षेत्रमा रूख काटिएको थियो। एमसिसीअन्तर्गत बनिरहेको सडकमा पूर्वजानकारीबिना रूख काटिएको भन्दै जिल्ला प्रशासन कार्यालयले चासो राखेपछि रूख काट्न रोकिएको छ।

एमसिसीबारे अहिले पनि अफवाह र गलत सूचनाहरू प्रवाह भइरहेको राजदूत थम्प्सनले बताए।

‘एमसिसीका परियोजनामा काम गर्न आउने अमेरिकीहरूको सुरक्षाका लागि अमेरिकी सेना आउँछजस्तो भ्रामक सूचना पनि मानिसहरूलाई पुर्‍याइएको रहेछ,’ राजदूत थम्प्सनले भने,‘म स्पष्ट पार्न चाहन्छु, जसरी नेपालस्थित हाम्रा दूतावासका कर्मचारीको सुरक्षा नेपाल सरकारले गरिरहेको छ त्यसरी नै अरू अमेरिकी नागरिकको सुरक्षा नेपाल सरकारले नै गर्छ।’

राजदूत थम्प्सनले मंसिर ४ को चुनावपछि बनेको नयाँ सरकारसँग मिलेर काम गर्न अमेरिका तत्पर रहेको बताए।

‘काठमाडौंमा मैले पनि धेरै कन्स्पिरेसी थ्यौरीका कुरा सुनें। अमेरिका प्रजातान्त्रिक प्रक्रियाबाट बनेको सरकारसँग काम गर्न तत्पर छ,’ उनले भने,‘हिजो मात्र प्रधानमन्त्री प्रचण्डले भारी विश्वासको मत पाउनु भएको छ। म बधाई भन्न चाहन्छु।’

नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) मा सहभागी नहुने भनी गरेको निर्णयलाई सम्मान गर्दै रक्षा क्षेत्रमा भावी दिनमा नेपाल-अमेरिकाबीच सहकार्य जारी रहने उनले बताए।

‘विपद्का बेला उद्धार तथा राहतको काम गर्न र शान्ति सेनामा नेपाली सैनिकको क्षमता बढाउन उक्त कार्यक्रम गर्न खोजिएको थियो,’ राजदूत थम्प्सनले भने,‘नेपालले उक्त कार्यक्रममा सहभागी नहुने निर्णय गरेको छ। नेपालको यो निर्णयको हामी सम्मान गर्छौं। रक्षा क्षेत्रमा हाम्रो अन्य सहकार्य भने रहिरहन्छ।’

नेपालसँगको सम्बन्धलाई अमेरिकाले द्वीपक्षीय सम्बन्धका रूपमा महत्व दिएको उल्लेख गर्दै उनले भारतको आँखाबाट नेपाललाई नहेर्ने बताए।

ranechhap