वि.सं.२०८३ वैशाख १७ बिहीवार

चिडिया खानामा थुन्ने धम्की नदिनुस्, जनताले गल्लीमा घिसार्लान्: वर्षमान

khanepani

काठमाडौै । प्रचण्ड-नेपाल नेतृत्वको नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले संविधान मासेर निरंकुश शासन चलाउन खोज्ने प्रधानमन्त्री केपी ओली र आफूहरूलाई चिडियाखानामा थुन्ने धम्की दिने गृहमन्त्री रामबहादुर थापा बादललाई आन्दोलन सफल भएपछि जनताले गल्लीमा घिसार्ने चेतावनी दिएका छन्।

दमौलीमा शनिबार तनहुँका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पुनले ओली–थापाको अन्त्य राज्य शक्ति र सत्ताको दुरूपयोग गरेर आफूसँग असहमत हुनेलाई तह लगाउन खोज्ने इतिहासका तानाशाको जस्तै गरि हुने बताए।

ओली समूहले शुक्रबार राजधानीमा गरेको शक्ति प्रदर्शनका क्रममा गृह मन्त्री थापाले प्रचण्ड–नेपाल समूहलाई लक्षित गर्दै ‘मांशाहारी आन्दोलन गर्छु भन्नेलाई जावलाखेलको चिडिया खानामा थुन्ने’ अभिव्यक्ति दिएका थिए।

बादलले ओली सरकारमा तीन वर्षसम्म सँगै बस्दा जनसरोकारका विषयमा एक शब्द नबोलेको सन्दर्भ कोट्याउँदै पुनले अहिले आएर आफ्नै पूर्वसहकर्मीविरुद्ध मुख छाडेको भन्दै निन्दा गरे।

नेकपाको ओली–थापा समूहमा लागेका नेता कार्यकर्तालाई भ्रष्टाचार मुद्दामा कारबाहीको धम्की आउन थालेको भन्दै पुनले धम्कीसँग आफूहरू नतर्सने स्पष्ट पारे।

अख्तियार, लोकसेवा, निर्वाचन आयोगजस्ता संवैधानिक निकायमा असंवैधानिक रुपमा गरिएका नियुक्ति बदरविरुद्ध दल, नागरिक अगुवा र सञ्चार माध्यमले आवाज उठाइरहेका बेला विरोधी तर्साउन ती निकायको दुरूपयोग गर्ने धम्की आएको पुनको भनाइ थियो।

ओली समूहका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भ्रष्टाचारका फाइलमा लागेका धुलो टक्टक्याउँने अभिव्यक्ति माथि पुनले सबैभन्दा पहिला आफ्नो गुटले गरेका भ्रष्टाचारका फाइलमा लागेका धुलो टक्टक्याएर देखाउन चुनौती दिए। ‘पार्टीका प्रवक्ता, सरकारका वरिष्ठ मन्त्रीले ‘धुलो लागेका फाइलहरु छिट्टै टक्टक्याउँछौं भनेर धम्की दिनुभएको सुनेंँ’, पुनले भने, ‘मित्र धुलो लागेका फाइलहरु तपाईंहरुका बढी छन्। ओम्नी काण्ड, यति काण्ड र अरु काण्डका आफ्नै भ्रष्टाचार र कुकृत्यका फाइलहरु त्यहाँ छन्, धुलो टक्टक्याएर काम सुरु गर्नुस् जनताले स्वागत गर्छन्।’

सत्ताको दुरूपयोग गरेर दिइने धम्कीबाट निरंकुशताविरुद्ध युद्ध, क्रान्ति र जेलनेल सहेर आएका, नेता कार्यकर्ता नतर्सले उनको भनाइ छ।

विगतमा त्यस्तै धम्की दिने ज्ञानेन्द्र शाहको अहिलेको अवस्था हेर्न सुझाव दिँदै उनले ओली र थापाको हालत पनि त्यस्तै हुने उल्लेख गरे। धम्की दिन र सडकमा पञ्चर्‍याली शैलीमा प्रदर्शन गर्न छाडेर जनताका पक्षमा लोकप्रिय काम गरे विरोधी आफैं तह लाग्ने उनको भनाइ थियो। ‘केपी-थापा गुटको धम्कीले कोही डराएको छैन, हामी डराएका छैनौं’, पुनले भने, ‘ओली र थापाजस्ता शासकहरु यो गल्लीमा लतारिन्छन्, पछारिन्छन् कसैले हेर्दैनन्। इतिहासमा कति शासकहरु लतारिए, कति मारिए हामीले धेरै देखेका छौं। प्रतिस्धर्पा गर्ने भए जनतामा विचार लिएर आउनुस्। धम्की नदिनुस्।’

ओली समूहलाई राज्यको साधन स्रोत दोहन गरेर गुटका कार्यकर्ता पोस्ने काम बन्द गर्न पुनले चेतावनी दिए। आफैंले निर्वाचन घोषणा गरेको सरकारले आचार संहिताविपरीत ७७ वटै जिल्लामा आफ्ना गुटका कार्यकर्तालाई सह–सचिव सरहका सुविधा पाउने गरी भूमि आयोगको नियुक्ति दिइएकामा आपत्ति जनाए। पुनले ओली समूहले व्यक्ति पिच्छे एकदेखि दुई हजार रुपैयाँ दिएर राजधानीमा मोटरसाइकल र्‍याली गरेको पनि आरोप लगाए।

‘पञ्च र ज्ञानेन्द्र शाहले जस्तो राज्यको ढुकुटीबाट पैसा बाँडेर शासन गर्ने बाटोमा नलाग्‍नुहोस, मति सुधार्नुस्’, पुनले भने, ‘ पैसा बाँडेर सत्तामा टिकिरहन खोज्दा ठूल्ठूला तानाहाह पछारिए जसरी पछारिनुहोला।’

सत्तामा नहुनेले सडकमा प्रदर्शन र राज्यलाई खबरदारी गर्ने भन्दै पुनले ओली आफैं जुलुस लिएर हिँडेको भन्दै ब्यंग्य गरे। ‘सरकारमा बसेर काम गर्ने हो, तर, ओलीले जस्तो जुलुस गर्दै हिंड्ने होइन’, उनले भने, ‘महंगी नियन्त्रण, बलात्कारीमाथि कारबाही, राष्ट्रघाति सन्धिको खारेजी, रोजगारी सिर्जना गर्नुस्। सरकारी कार्यालयमा जाँदा खुरुखुरु काम हुने वातावरण बनाउनुस् । कसैलाई गाली गर्नै पदैन, विरोधीहरु आफैं सिद्धिन्छन्।’

जनताले केपी ओलीलाई नभई नेकपालाई पाँच वर्ष सरकार चलाउँन जनमत दिएको भन्दै पुनले विगतमा राजाले जस्तै सार्वभौमसत्ता र राजकीय सत्ता आफैंमा निहीत रहेको दाबीसहित असंवैधानिक रुपमा प्रतिनिधिसभा विकटन गरेको बताए।

पाँच वर्ष सरकार चलाउन नसक्ने ओलीको अक्षमताको शिकार संविधान र लोकतन्त्र हुन नसक्ने उनको भनाइ थियो। ‘पार्टीले पाँच वर्ष प्रधानमन्त्री चलाउन दिँदा केपी ओली अयोग्य भएर मैदानबाट भाग्नुभएको छ’, पुनले भने, ‘अप्ठेराहरुलाई मिलाउन सक्ने, फरक मतहरुलाई सँगै लिएर जान सक्ने मान्छे नेता हुन्छ। अप्ठेरो आएपछि भागेर हिंड्ने, आफ्नो घर आफैं आगो लगाएर हिंड्ने मान्छे नेता हुँदैन। यसले पुष्टि गर्छ केपी ओली नेता होइनन्।’

मन्त्री पुनले २०६२/६३ सालको आन्दोनविरोधी भन्ने जान्दाजान्दै सुध्रिएको विश्वासमा ओलीलाई नेतृत्व स्वीकार गरेर गल्ती भएको स्वीकार गरे। ओलीलाई अहिले पनि गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीता र समानुपाकि प्रतिनिधिच्व जस्ता आन्दोलनका उपलब्धी मन नपरेको आरोप पुनले लगाए।

१०औं हजारको बलिदान तथा लाखौंले आँसु र पसिना बगाएर ल्याएको व्यवस्था र संविधान सिध्याउने काममा ओली लागेकाले आफूहरुले प्रतिवादमा उत्रिएको पुनले स्पष्ट गरे। ओलीको स्वेच्छाचारिता र निरंकुशता एक दिन ढल्ने र लोकतन्त्र पुनबर्हाली तथा संविधानको रक्षा गरेरै छाड्ने उनको अठोट थियो।

ranechhap