05, May, 2024

निर्वाचन सकिएलगत्तै रुपन्देहीका उद्योगी व्यवसायी औद्योगिक प्रदर्शनी तथा व्यापार मेलाको चटारो

Bagmati Voice
संवाददाता
१४ मंसिर २०७९, बुधबार ०७:४८ | १ साल अगाडी

रुपन्देही । निर्वाचन सकिएलगत्तै रुपन्देहीका उद्योगी व्यवसायी औद्योगिक प्रदर्शनी तथा व्यापार मेलाको तयारीमा लागेका छन् ।
भैरहवामा मंसिर २३ गतेदेखि हुने व्यापार मेला तथा बुटवलमा पुस ७ गतेदेखि हुने औद्याेगिक प्रदर्शनी तयारी थालिएको हो ।

रुपन्देही उद्योग संघले आगामी पुस ७ देखि १९ गतेसम्म बुटवलमा संचालन गर्ने १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को तयारी गरिरहेको छ ।

नेपाल उद्योग परिसंघ र लुम्बिनी प्रदेश उद्योग परिसंघसँगको संयुक्त आयोजनामा “समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार” भन्ने मूल नाराका साथ प्रदर्शनी आयोजनास्थल बुटवल मण्डपमा सचिवालय स्थापना गरी संघले काम अगाडि बढाएको छ । संघले प्रदर्शनी निरन्तर आयोजना गर्दै आएको छ ।

राजधानी बाहिर निर्माण गरिएको अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवलमण्डपमा आयोजना गरिने प्रर्दशनीको तयारीको क्रममा स्टल निर्माण, सहभागी उद्योगहरुको दर्ता, मनोरञ्जलस्थलको काम थालिएको अध्यक्ष तथा मेला संयोजक माधव पौडेलले जानकारी दिए ।

संघलाई नेपाल उद्योग परिसंघ र लुम्बिनी प्रदेश उद्योग परिसंघसँगै बुटवल उपमहानगरपालिका र लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र काठमाडौं सहआयोजक तथा संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, पर्यटन ग्रामिण तथा शहरी विकास मन्त्रालय, कृषि तथा भूमी व्यवस्थापन मन्त्रालय र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड काठमाडौं प्रवद्र्धक रहेर सहयोग गरेका छन् ।

२०३५ सालमा उद्योगीहरुको हकहित संरक्षण र सम्वद्र्धन गर्दै देशको औद्योगिक विकासमा टेवा पु¥याउने उद्देश्यले स्थापना भएको संघले राजधानी काठमाडौ वाहिर प्रथम पटक वि.सं.२०४५ सालमा राष्ट्रिय औद्योगिक प्रदर्शनीको आयोजना गरेको थियो ।

तयारीकै क्रममा संघको एक प्रतिनिधि मण्डल पूर्वका औद्योगिक नगर तथा उद्योग प्रतिष्ठानहरुको भ्रमण गरेर फर्केको छ । प्रदर्शनीमा सहभागिता जनाउन अनुरोध गर्दै विभिन्न उद्योग प्रतिष्ठानहरुमा पुगेर टोली फर्केको प्रदर्शनी प्रवन्धक यादव प्रसाद भण्डारीले बताए । त्यसक्रममा सो प्रतिनिधि मण्डलले चितवन, हेटौडा, विरगंज, पोखरामा औद्योगीक क्षेत्रहरुमा रहेका उद्योग प्रतिष्ठानहरुको भ्रमण गरी प्रदर्शनीमा सहभागिताका लागि औपचारिक रुपमा आमन्त्रण गरेको छ ।

यस्तै भैरहवामा कृषि, पर्यटन, औद्योगिक एवं व्यापार र कलासंस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यलेसंचालन हुन लागेको लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ को तयारी तीव्र पारिएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवले भैरहवालगायत सिंगो रुपन्देहीको आर्थिक गतिविधिलाई चलायमान बनाउने आयोजकको दावी छ ।

अहिले महोत्सव हुने स्थल अंचलपुरमा धमाधम संरचना निर्माणको काम भइरहेको छ । सचिवालय निर्माण सकिएको छ भने प्रवेशद्वार र मंच निर्माणको काम जारी छ । यस्तै, स्टलका लागि संरचना बनाउने र कुस्ती खेलका लागि माटो पट्याउने काम पनि सकिनै लागेको स्टल तथा स्थल व्यवस्थापन समिति संयोजक मंगल भण्डारीले जानकारी दिए ।

संघका अनुसार अहिलेसम्म २ सय बढी स्टल दर्ता भइसकेको संघका उपाध्यक्ष एवं स्टल दर्ता समिति संयोजक नेत्रप्रसाद आचार्यले बताए । मंसिर २३ गतेदेखि पुस ४ गतेसम्म संचालन हुने उक्त महोत्सवमा विभिन्न उत्पादनका गरी २ सय ५० स्टलहरु रहनेछन् ।

लामो समय कोरोना महामारीले थला परेको उद्योग–व्यवसायलाई फस्ट्याउन र बजार चलायमान बनाउन महोत्सव कोशेढुंगा हुने अपेक्षा आयोजकले गरेका छन् । मेलालाई सफल बनाउन अहिले सहरदेखि गाउँबस्तीसम्म प्रचार–प्रसारको काम भइरहेको छ ।

१४ मंसिर २०७९, बुधबार ०७:४८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading